चितवन। स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा चितवनका म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ। २०७९ वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि चितवन जिल्लाभर सत्र सय भन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ।
यस वर्ष चितवनमा मतदाता बढी भएका कारण मतदान केन्द्र थपिने भएको छ। मतदान थप गरिएसँगै सुरक्षाकर्मी पनि ठूलो संख्यामा परिचलान गर्नुपर्ने भन्दै यस वर्ष चितवनमा एक हजार ७०९ जना म्यादी प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
म्यादी प्रहरीका लागि देशभर यही चैत ६ गतेदेखि भर्ना प्रक्रिया सुरु हुँदैछ। १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले यही चैत ११ गतेसम्म आवेदन दिन पाउनेछन। छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । यस वर्ष स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले देशभर १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त मागेको छ भने छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।
म्यादी प्रहरीमा साधारण लेखपढ गर्न जानेकाहरूले आवेदन दिन पाउनेछन् । विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवश्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ । सुरक्षा निकायमा २०७८ साउन १ पछि भर्नाको लागि आवेदन दिएर शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्राथमिकतामा राखिएको छ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरिले खाद्यान्नवापत ७ हजार २००,पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्चवापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

