काठमाडौं ।राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गरेको छ । सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न माग गरेको हो ।
समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य गुरुङप्रति अमर्यादित टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुन अनुसारको कारबाही गर्न माग गरेको हो ।
मन्त्रीको शपथ लिएलगत्तै मनाङेले सञ्चारमाध्यमहरूलाई दिएको एक अन्तर्वार्तामा राखेप सदस्य सचिव सिलवाल पोखरा आउँदा बोर्ड सदस्य गुरुङले रक्सी र युवतीको बन्दोबस्त गर्ने गरेको आरोप लगाएका थिए। सदस्य सचिव सिलवाल रक्सी र केटी भनेपछि पागल हुने र बोर्ड सदस्य राजेश गुरुले सबै प्रोभाइड गर्ने आरोप लागेका हुन्।
सिलवाल पोखरा आउँदा मोजमस्ती गर्न पाउने भएकाले राखेपले राजेश गुरुङलाई गण्डकी प्रदेशको सरकारी सम्पत्ति भोगचलन गर्न पाउने भनेर पत्र दिएको मनाङेको दाबी छ ।