चितवन । चितवनमा आज र भोलि दुई दिन नै होली पर्व मनाइन्छ । पहाडमा आज र तराईमा भोलि होली पर्व मनाइँदै आइएको छ । तर चितवन यस्तो जिल्ला हो, जहाँ दुई दिन नै होली पर्व मनाइन्छ । कोरोनाका कहरका कारण दुई वर्षदेखि चितवनले होली पर्व मनाउन पाएको थिएन । दुई वर्षपछि चितवनले मनाउँदै गरेको होलीमा कुनै उच्छृखलता देखिएन । विगतका होलीहरुमा चितवनमा विभिन्न उच्छृखलता भेटिन्थ्यो । जबर्जस्ती रंग दल्नेदेखि हुलहुज्जतसम्मका घटनाहरु चितवनमा होलीका दिन भएका हुन्थे ।
विगतका होलीहरुमा नारायणी नदीकिनारमा ग्याङ फाइटसम्म भएका थिए । यस वर्षको चितवनको होली सभ्य देखिएको छ । विगतका होलीमा मापासे गरेर मोटरबाइक कुदाउनेहरु प्रशस्त हुन्थे । मोटरसाइकल दुर्घटनाहरु होलीका समयमा बढ्ने गरेको थियो । यो समाचार तयार पार्दासम्म चितवनको होली सभ्य छ । हुन त चितवनमा भोलि पनि होली पर्व मनाइन्छ । आज होलीको पहिलो दिन चितवनमा कुनै अप्रिय घटना घटेको छैन ।
चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले भने, ‘चितवनमा कुनै अप्रिय घटना घटेको छैन, होली पर्वमा कुनै उच्छृखलता देखिएको छैन । अहिलेसम्म सद्भाव र भाइचाराको दृष्टिले चितवनले होली पर्व मनाइएको पाइयो । चितवन प्रहरी पनि यही चाहन्छ ।’ चितवन प्रहरी चोकचोकमा तैनाथ रहेको छ । सुरक्षा व्यवस्था कडा गरेको छ । ठाउँठाउँमा मापसे जाँच भइरहेको छ । आज होलीको दिन कुर्नै घटना दुर्घटना नघटेको प्रहरीको भनाइ छ ।
चितवनमा फोहर पानीले भरिएका बेलुनले हिर्काउने विकृति अन्त्य भएको महसुस सर्वसाधारणले गरेका छन् । लोला हान्ने प्रचलन पनि कम भएको महसुुस उनीहरुको छ । प्रहरीको कडाइसँग चेतनाको स्तर पनि बढेको भेटिएको छ । कुनै समय सडकमा हिँड्ने युवतीहरुलाई लोला हान्ने चलन चितवन पनि व्यापक थियो, तर यस वर्ष होली पर्व सभ्य भएको पाइन्छ ।
फागु पूर्णिमा अर्थात् होली पर्व आज चितवनमा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको स्थानीय बताउँछन् ।

२०७६ देखि भने कोरोना महामारीका कारण पनि फागु पूर्णिमा पर्व थप सजगताका साथ मनाउन थालिएको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। विगत वर्षजस्तै यस वर्ष पनि कोरोनाको प्रभाव कायमै रहेकाले सुरक्षित भएर होली मनाउन प्रशासनले आह्वान गरेको छ। घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ, तर पनि मानिसहरु विभिन्न क्षेत्रमा जम्मा भएर होली मनाएको छ ।
नारायणी नदी किनारमा होली मनाउनेको ठूलो जमात भेला भएको छ । सो क्षेत्रमा अप्रिय घटना घट्छ कि भनेर प्रहरीले निगरानी बढाएको छ । यस पर्वका उपलक्ष्यमा गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ। चेतनाको स्तर बढेका कारण पनि चितवनको होली सभ्य बन्दै गएको सर्वसाधारणको भनाइ छ ।

