चितवन । दुई दिनदेखि अनवरत हल्का र मध्यम स्तरको बर्षा भइरहेको माडी क्षेत्रमा बर्षाले खतराको तह भेटेको छ ।
पछिल्लो २४ घण्टामा माडीको छरछरेस्थित बर्षामापन केन्द्रमा १७० र कल्याणपुरस्थित बर्षामापन केन्द्रमा १४०.६ मिलिमिटर (यो खबर पोस्ट गर्दाको समयमा) बर्षामापन भएको हो । बर्षाका कारण रीउ, मगोई, चितई लगायतका खोला र खहरेहरुमा पानीको सतह बढेको छ ।
यसैबिच, लगातारको बर्षाका कारण खोला खहरेहरुमा आउनसक्ने बाढीजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन माडी नगरपालिकाले आग्रह गरेको छ । यो समयमा बाढीले बगाएर ल्याएको दाउरा समात्ने, माछा मार्ने र पौडी खेल्ने लगायतका जोखिम कार्यहरु नगर्न र विपत्ति आइपरेमा तत्कालै सुचना प्रवाह गर्न नगरपालिकाले अनुरोध गरेको हो ।स्वदेश एफ एमबाट
उता, जिल्ला प्रशासन कार्यालय चितवनले समेत नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्लाका सबै सुरक्षा निकायलाई पनि अलर्ट हुन भनिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताउनुभयो ।