भरतपुर। गएराती देखि परेको अविरल बर्षाका कारण नारायणी र राप्ती नदीमा पानीको बहाब बढ्दै गएको छ। अबको केहि दिन नारायणी, राप्तीलगायत चितवनका नदी किनारमा रहने नागरिकले विशेष सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।
चितवन प्रशासनले अत्यन्त जरुरी सूचना जारी गर्दै सो सर्तकता अपनाउन अनुरोध गरेको हो । सूचनामा चितवन लगायत आसपासका जिल्लाहरुमा लगातार पानी परिरहेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकोले आमनागरिकलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
बाढी आएको समयमा नदीमा माछा मार्ने, पौडी खेल्ने र दाउरा संकलनको काम नगर्न पनि भनिएको छ ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लाका सबै सुरक्षा निकायलाई अलट हुन भनिएको बताउनुभयो ।रातभर पानी परेकाले विहानैदेखि नदीमा पानीको बहाव बढेको बताउदै उहाले निरन्तर पानी परिरहेकाले नदी तटिय क्षेत्रमा जोखिम बढ्दो रहेको बताउनुभयो। उहाँले समयमै सचेत बनेर बस्न सबै जिल्लाबासीलाई आब्हान गर्नुभएको छ ।