चितवन । चितवन नवलपुरका पानी उद्योगीले पानी शुद्धिकरणको लागि अत्याधुनिक ल्याव निर्माण गरेका छन् । चितवन र नवलपुरका पानी उद्योगीले संयुक्त रुपमा नारायणगढमा पानी परीक्षण गर्ने आधुनिक ल्याव निर्माण गरेका हुन् । उनीहरुले पानीको गुणस्तर कायम गरी पुर्ण रुपमा स्वाथ्यकर पानी उपभोक्ताको पहुँचमा लैजान अत्याधुनिक माइक्रो बायोलोजी ल्याब खडा गरेका हुन् ।
माइक्रो बायोलोजिष्ट राखेर प्रयोगशाला संचालन भएको छ । चितवन र नवलपुरका २६ वटा पानी उद्योगीले ३५ लाख लागतमा सिएन वाटर टेष्टिङ एण्ड एनालाइसेस ल्यावको नाममा पानी प्रयोगशाला सञ्चालन गरेका हुन् । चितवन र नवलपुरमा २६ वटा पानी उद्योग रहेका छन् । ती मध्य २३ ले बोतल र जार दुबै उत्पादन गर्ने गरेका छन् भने ३ वटाले जारमात्रै उत्पादन गर्ने गरेका छन् ।
प्रयोगशालामा हप्ताको १ दिन उद्योगले अनिवार्य पानी परीक्षणको लागि ल्याउनुपर्ने बाध्यकारी व्यवस्था गरिएको सुमन मिनरल वाटर उद्योगका संचालक सोमप्रसाद काप्रीले बताए । उद्योगीले ल्याव संचालनको लागि मासिक १० हजार रुपैयाँ संकलन समेत गर्ने गरेको उनले जानकारी दिए । चितवन र नवलपुरमा अहिले दैनिक १८ सय जार र ४ हजार कार्टुन पानी प्रतिदिन बिक्री हुने गरेको काप्रीले बताए ।
ल्यावका अध्यक्ष केशव घिमिरेले उपभोक्तालाई गुणस्तरीय पानी खुवाउने उद्देश्यका साथ ल्याव स्थापना गरिएको बताए । हरेक हप्ता पानी परिक्षण हुने र परिक्षणका क्रममा समस्या देखिए तुरुन्तै उत्पादित पानीको बिक्री रोक्ने उनले बताए ।

