पाँचथर । पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको याङवरक गाँउपालिकाको चिवाभञ्ज्याङमा बोर्डर आउट पोष्ट (बीओपी) भवनको शुक्रबार उद्घाटन भएको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच सशत्र प्रहरी एक नम्बर प्रदेशका बाहिनीपति (डीआइजी) वंशिराज दाहाल र पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
संघीय सरकारको ९८ लाख ६६ हजार रुपैयाँ आर्थिक लगानीमा निर्माण भएको बिओपी भवन गत पुष महिनादेखि निर्माण सुरु भएको सशस्त्र प्रहरी प्रमुख किशोरकुमार श्रेष्ठले जानकारी दिए ।
यस अघि गाउँपालिकाले बिओपिका लागि २ लाख लगानी गरेर किचन घर निर्माण गरेको थियो भने ४ लाखको सोलार सेट र खानेपानीको प्रबन्ध पनि गाउँपालिकाकै लगानीमा रहेको छ ।
चिवाभञ्ज्याङबाट सिक्किम पुग्न करिब ४ घण्टाको ओरालो बाटो जानुपर्छ । यो सिमाना नाकामा चिवाभञ्ज्याङ र सिक्किमबीच आवत-जावतका लागि मोटर बाटो निर्माण भएको छ ।