पोखरा । बुद्ध एयरले आज (शनिबार)बाट पोखरा- जनकपुर सिधा हवाई उडान सेवा सुरु गर्ने भएको छ । आज पहिलो उडानमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली जनकपुर जाने भएका हुन् । मुख्यमन्त्री नेपालीलाई जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन् । जनकपुरधामको जानकी मन्दिर, विवाहमण्डप लगायतको अवलोकन गर्ने कार्यक्रम छ ।
यसअघि मधेशका मुख्यमन्त्री राउत गत असोज ६ मा पोखरा भ्रमणमा गएका थिए । सप्ताहमा तीन उडान गरिने तयारी गरिएको छ । यात्रुको चाप बढे उडान सेवासमेत थप हुने जनाइएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि जनकपुर–पोखरा उडान स्थगित थियो ।
साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार जनकपुर–पोखरा हवाई उडान हुने बुद्ध एयरले जनाएको छ । पोखरा जनकपुरमा हवाई उडान अवधि ४५ मिनेटको हुने छ ।

