नवलपरासी । गरिबी निवारणका लागि यहाँको एक सामुदायिक वनले आफ्ना उपभोक्तालाई सीपमूलक तालीम सञ्चालन गरेको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गँैडाकोट–१ मा रहेको मौलाकाली सामुदायिक वनले स्थानीय महिलालाई सीप सिकाउन सुरु गरेको हो ।
वनले महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत शुक्रबारदेखि १७ महिलालाई हस्तकलासम्बन्धी तालिम दिन सुरु गरेको हो । सातदिने तालिम शुक्रबार गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले शुभारम्भ गर्दै उद्यमशील र स्वरोजगार बन्न आग्रह गर्नुभयो । यस स्थानमा केबलकार निर्माण भएपछि आन्तरिक पर्यटक बढ्ने र हस्तकलाको बजार पनि बढ्ने भएकाले हस्तकलाका सामग्री बिक्री गरेर मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ थियोे ।
सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले विगतका कार्यक्रमबाट महिलाहरु स्वरोजगारका साथै स्वावलम्बी पनि भएकाले सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।
महिला सशक्तीकरण समिति संयोजक इन्दिरा शर्माले तालिम लिएका सहभागीले उत्पादन गरेका सामग्रीलाई बजारीकरणका लागिसमेत सामुदायिक वनले संयोजन गर्ने जानकारी दिनुभयो । सबडिभिजन वन कार्यालयका प्रमुख सूर्यसिंह गुरुङले वन विकास कार्यक्रममा रहेको बजेटबाट महिला सशक्तीकरणको कार्यक्रम अघि बढाइनुपर्नेमा जोड जोड दिनुभयो । सहभागी प्रतिक्षार्थीले अवसरलाई उद्यमशीलतामा परिणत गर्न सुझाव दिएका थिए ।

