चितवन । बाँकेमा मान्छेलाई आक्रमण गर्ने पाटेबाघलाई चितवन राष्ट्रिय निकुञ्जमा राखिएको छ। राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बुधबार नियन्त्रणमा लिएको उक्त बाघलाई आज (बिहीबार) चितवन ल्याइएको हो।
उक्त बाघलाई अन्यन्त्र राख्न ठाउँ नभएकोले चितवन पठाइएको बाँके निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए। उनले भने,‘त्यहाँ जंगलमा छोड्ने होइन, संरक्षण गरेरै राख्ने हो।’
भदौ अन्तिम यता बाँके, राप्ती र नरैनापुरमा गरी ५ जनाको ज्यान लिएको उक्त बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली, नेपाली सेना, बाँके निकुञ्जको टोलिले उक्त बाघलाई बुधबार नियन्त्रणमा लिएको थियो ।

