चितवन । पटकपटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन भोलि बिहीबारबाट सुरु भएको छ । नारायणी कला मन्दिर नारायणगढमा भोलि बिहीबार उम्मेदवार मनोनयनदेखि दावी विरोधसम्मको कार्यक्रम तय भएको छ । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जिल्ला अधिवेशन फाल्गुन १९ गते नारायणी कला मन्दिर नारायणगढमा हुने बताए ।
निर्वाचन फागुन २० गते बिहान ९ देखि ५ बजेसम्म हुनेछ । उम्मेदवार मनोनयनदेखि फिर्ताको समय फागुन १९ गते हुनेछ ।
सभापति श्रेष्ठका अनुसार यसअघि विभिन्न कारणले जिल्ला अधिवेशन सरेको र अब भने निश्चित भएको छ ।
कांग्रेसको यस अधिवेशनको लागि सभापतिमा संस्थापन पक्षबाट एक र संस्थापन इतरबाट पाँच जनाले दावी गरिरहेका छन् । संस्थापन पक्षबाट बागमति प्रदेशका मन्त्रीसमेत रहेका मिलनबाबु श्रेष्ठले आफू एक्लो उम्मेदवार रहेको बताएका छन् । नेता श्रेष्ठले भने, ’संस्थापन पक्षबाट म एक्लो उम्मेदवार हो ।’ उनले आफ्नो जित सुनिश्चित भएको समेत बताए । नेता श्रेष्ठले भने, ‘मेरो जित सुनिश्चित छ, वडा सदस्यदेखि पार्टी संगठनमा कटिबद्ध भएर लागेको छु । मतदाताहरुले मलाई अत्याधिक भोटले जिताउँछन् भन्ने विश्वास गरेको छु ।’ श्रेष्ठ शेरबहादुर देउवा पक्षधर मानिन्छन् ।
कांग्रेसको यस अधिवशेनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति बनाउनेछ। अधिवशेनले जिल्लाका तीन निर्वाचन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन पनि गर्नेछ । संस्थापन इतर पक्षबाट चितवन कांग्रेसको सभापतिको लागि ५ जनाले दावी गरिरहेका छन् । सभापतिमा दावी गरिरहेका संस्थापन इतरका नेता विजयराज भुसालले भने, ‘संस्थापन इतरबाट एक्लो उम्मेदवारको लागि छलफल भइरहेको छ, अरुले छोडेर एक्लो उम्मेदवार बनाउन राजी भए भने मैले पनि त्याग गर्नुपर्ने अवस्था आउँछ तर अरु दावेदारले उम्मेदवार मनोनयन दर्ता गरे भने मैले पनि सभापतिमा मनोनयन दर्ता गर्नेछु ।’
चितवन कांग्रेस सभापतिमा उनीसहित उत्तम जोशी, सूर्यकान्त घिमिरे, कैलाश कोइराला र राजेश्वर खनालले दावी गरेका छन् । यी पाँचै जना संस्थापन इतरको रुपमा चिनिन्छन् । नेता भुसालका अनुसार स्थापन इतरका नेताहरु यतिबेला छलफलमै छौँ, संस्थापन पक्षबाट जसरी एक्लो उम्मेदवार बनेको छ, त्यसरी नै इतरबाट पनि एक्लो उम्मेदवार बनाउने प्रयास भइरहेको छ ।
संस्थापन इतरबाट सभापतिका दावेदार रहेका जोशी कांग्रेस चितवनका हालका सचिव हुन् । प्राडा सूर्यकान्त घिमिरे नेविसंघका पूर्वजिल्ला सभापति हुन् । नेता कोइराला हालका जिल्ला उपसभापति हुन् । नेता खनाल महासमिति सदस्य हुन् । संस्थापन इतरका सबै नेताहरु आफू व्याक नहुने अडानमा छन् । प्राडा घिमिरे आफू सभापतिको उम्मेदवार बन्नबाट पछाडि नहट्ने दावी गरे । उनले भने, ‘मेरो पपुलारिटी धेरै छ, मतदाताको भोटले जित्ने निश्चित छ, म किन पछाडि हट्ने ?
‘संस्थापन इतरबाट एक्लो उम्मेदवारको लागि छलफल भइरहेको छ, अरुले छोडेर एक्लो उम्मेदवार बनाउन राजी भए भने मैले पनि त्याग गर्नुपर्ने अवस्था आउँछ तर अरु दावेदारले उम्मेदवार मनोनयन दर्ता गरे भने मैले पनि सभापतिमा मनोनयन दर्ता गर्नेछु ।’
उनले पछाडि हट्ने कुनै मनस्थिति आफूल नबनाएको र मतदाताले पछाडि नहट्न सुझाव दिइरहेको बताए । संस्थापन इतरबाट उम्मेदवारका आंकाक्षीहरुको संख्या घटाउनका लागि नेताहरूले छलफल तीव्र पारेका छन्, तर सहमति जुट्न नसकेको कांग्रेसका एक नेताले बताए । कांग्रेसको सबैभन्दा बढी क्रियाशील सदस्य भएको जिल्लाका रुपमा चितवनलाई लिने गरिन्छ । जसका कारण चितवनलाई हेर्ने दृष्टिकोणमा केन्द्रका नेताहरुले पनि फरक राखेका छन् । कांग्रेसका केन्द्रका नेताहरु पनि यसअघि पटकपटक चितवन आएका थिए । यसरी चितवन आउनेमा गगन थापादेखि प्रकाशशरण महतसम्म छन् । संस्थापन पक्षबाट हाल मन्त्रालयमा रहेका उमेश श्रेष्ठदेखि उमा रेग्मीसम्मका नेताहरु चितवन आइरहेका छन् ।
हालका जिल्ला उपसभापति कैलाश कोइराला पनि आफू सभापतिको दावेदार रहेको बताउँछन् । उनी पनि व्याक नहुने अवस्थामा आफू रहेको बताए । उनले भने, ‘क्षेत्रीय प्रतिनिधिको भोटले जित्नेछु, सभापतिको दावेदारबाट व्याक हुनेछैन ।’ यस्तै, राजेश्वर खनाल र उत्तम जोशीले पनि आफू सभापतिको दावेदार रहेको बताएका छन् । सभापति निर्वाचित हुनका लागि ५१ प्रतिशत मत आवश्यक पर्छ । पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्नुपर्ने हुन्छ । दुई हजार ९०६ मतदाता छन् । शुक्रबार मनोनयनको कार्यक्रम सम्पन्न गरी शनिबार मतदान प्रक्रिया चल्नेछ ।

