चितवन । चितवनका उद्योगी व्यवसायीहरुले बैंकहरुले ऋणको व्याजदर बढाउँदा आर्थिक चपेटामा परेको गुनासो गरेका छन् । उद्योगी व्यवसायीहरुले लिएको ऋणको व्याज बैंकहरुले बढाइरहेका छन्, जसका कारण उद्योगी व्यवसायीहरु ऋणको व्याज बढिरहँदा समस्यामा परेको बताएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्र श्रेष्ठले बैँकहरुले ऋणको व्याज बढाइरहेको गुनासो गर्छन् । उनी भन्छन्, ‘व्याज बढाइरहेका छन्, व्यवसायी उद्योगीहरु समस्यामा परेका छन् ।’
गतवर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढाएको उनको गुनासो रहेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको तुलनामा यस वर्षको पुसमा दुई प्रतिशत हाराहारीले बढेको छ । तरलता अभावका कारण व्याजदर बढेको बैँकहरुले जनाएको छन् । पुँजीगत खर्च नहुँदा तरतला अभाव भएको र व्याजदर बढेको एक बैंकरले बताए । उनले भने, ‘बैङ्कमा तरलता अभावले ब्याजदर बढाउनु परेको हो । व्याजदर बढ्दा उद्योगी व्यवसायीहरु केही मारमा पर्ने नै भए ।’
ठूलो उद्योग र कृषि क्षेत्रमा बैङ्क केही उदार भए पनि मझौला र साना ऋणीलाई उच्च ब्याजदर लिने गरेका छन् । गत वर्षको पुसमा राष्ट्रिय वाणिज्य बैङ्कको बेसरेट ५ दशमलव ६१ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको पुसमा यो दर ६ दशमलव ६ प्रतिशत पुगेको छ । यो बेसरेट बैंकमा सबैभन्दा कम हो । सिभिल बैङ्कको गत आर्थिक वर्षको पुसमा ८ दशमलव ४५ प्रतिशत बेसरेट रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ दशमलव ७४ प्रतिशत पुगेको छ ।
गतवर्षको पुसको तुलनामा यस वर्षको पुसमा सबैभन्दा बढी एनआईसि एशिया बैङ्कको बेसरेट बढेको छ । गतवर्षको पुसमा यो बैङ्कको बेसरेट २ दशमलव ७९ प्रतिशत रहेकोमा त्यसमा वृद्धि भएर अहिले ९ दशमलव ४४ प्रतिशत पुगेको छ । यो बैङ्कले आफ्नो बेसरेटमा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर तय गर्दा १५ प्रतिशतसम्म पुग्ने गरेको छ ।
कृषि क्षेत्रमा ठूला बैङ्कले दुई प्रतिशत प्रिमियम थप गरेका छन् भने अन्य क्षेत्रमा ३ देखि ६ प्रतिशतसम्म प्रिमियम थप गरेको पाइन्छ । नवील बैङ्कका एक कर्मचारीले कृषिमा २ प्रतिशत र अन्य क्षेत्रमा ३ देखि ५ प्रतिशत प्रिमियम थप गरेर ब्याजदर कायम गर्ने गरिएको जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले तरलता अभावले व्यवसायीहरु मारमा परेको बताए । उनले भने, ‘ठूलो समस्यामा छौँ, बैंकले तरलता अभाव देखाएको छ, व्याजदर बढाएको छ, गत वर्ष तिरको व्याजदरभन्दा यो बर्ष व्याजदर बढी बुझाउन परेको छ ।’
बैङ्कको ज्यादतिका कारण उद्योग व्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनी बताउँछन् । बैङ्कले लिएको गलत नीतिका कारण कोभिडपछि प्रभावित व्यवसाय थप समस्यामा पुगेको उनको भनाइ छ । उनले भने, “ब्याजदर मनलाग्दी बढाएका छन् । स्वीकृत भएका ऋण समेत नदिएर व्यवसाय धरासायी बनाउने अवस्थामा पुगेका छन् ।”
होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले बैंकहरुले व्याजदर बढाउँदा समस्या भएको बताए । उनले भने, ‘बैंकहरुले व्याजदर बढाइरहँदा सबै उद्योगी व्यवसायीहरु मारमा परेका छन् ।’ उनका अनुसार बैङ्कले व्यवसायीको समस्या बुझेन, राज्य पनि उदासिन छ । बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि २५ प्रतिशत उद्योग धरासायी भइसकेका छन् ।” बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि पर्यटन व्यवसाय झनै प्रभावित बनेको छ । कोभिडले पर्यटन व्यवसाय ठप्प प्रायः रहेका बेला बैङ्कको ब्याज उच्च हुँदा व्यवसायी तिर्नै नसक्ने स्थितिमा पुगेका छन् ।

