तनहुँ। कोभिड–१९ विरुद्ध जुध्न हेफर इन्टरनेशनल नेपालले तनहुँको देवघाट गाउँपालिकालाई रु १५ लाख सहयोग गरेको छ ।
गाउँपालिकाले खडा गरेको कोभिड कोषमा उक्त संस्थाले रु १५ लाख सहयोग गरेको हो । महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतका तीन संस्थाहरूको सहकार्यमा कोभिड विरुद्ध जुध्नका लागि उक्त सहयोग गरिएको संस्थाका चितवन जिल्ला क्लष्टर प्रबन्धक कृष्णबाबु कट्टेलले जानकारी दिए ।
उक्त रकम अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आइसियु, एक्सरे मेशिन, आइसोलेशन तथा कोभिड अस्पताल निर्माण, स्वास्थ्य सामग्री खरिदमा खर्च गर्नुपर्ने उनले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले कोभिड नियन्त्रणका लागि गैरसरकारी संस्थाको तर्फबाट ठूलो रकम सहयोग प्राप्त भएको भन्दै संस्थाप्रति आभार व्यक्त गरे। थापाले हेफरसँग सहकार्य गरेर गाउँपालिका अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।