चितवन । २०७७ भदौ १६ मा रत्ननगरकै एक मजदुरले आकाशे पुलमा झुन्डिएर आत्महत्या गरे । त्यतिबेला पुल निर्माणाधीन अवस्थामा थियो । लामो समय लगाएर कोरोनाको कहरमा रत्ननगरमा आकाशे पुल त बन्यो । चितवनको पहिलो आकाशे पुल भनेर रत्ननगर नगरपालिकाको समेत चर्चा भयो । जतिबेला पुल तयार भयो, जनप्रतिनिधिको नाक पनि उचो भयो ।
तर अहिले आएर रत्ननगरको आकाशेपुल प्रयोगविहीन भइरहेको छ । आकाशे पुल सेल्फी जोनमा मात्र परिणत भइरहेको छ । आकाशे पुल प्रयोग गर्नेको संख्या दिनमा १० जना पनि मुस्किलले पुग्ला । सडकबाटै बाटो क्रस भइरहेको छ । आकाशेपुल प्रयोगविहीन हुनुमा चेतनाको अभावमात्र होइन, निर्माणमै धेरै समस्या भएका छन्, जसका कारण आज पुल सेल्फी जोन भइरहेको छ ।
एक त रत्ननगरको व्यस्त सडकमा निर्माण गरिएको उक्त पुल अपाङ्गमैत्री बन्न सकेन । अर्को पुल घुमाउरो छ, क्रस गर्न पनि यात्रुले धेरै समय खर्च गर्नुपर्छ । पुल धेरै हाइटमा छ, उक्लन पनि समय लाग्छ । पुल माथिनजिकै नांगो तार छ । पुलबाट झर्ने क्रममा दुईतर्फी बाटो छैन । यस्ता विविध समस्याले रत्ननगरको आकाशे पुल सेल्फी जोनमात्र बनिरहेको छ ।

कुल २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाँको लगतमा निर्माण गरिएको उक्त पुल समयमै सम्पन्न भएको थियो।
सवारी साधन र मानिसहरुको अत्याधिक चाप हुने उक्त ठाउँमा बाटो काट्ने भन्दा सेल्फी खिच्ने मानिसहरु उक्त पुलमा चढ्ने गरेका छन्। जनप्रतिनिधीहरुले भने स्थानीयमा जनचेतनाको अभावका कारण करोडौंको लगानी खर्चेर निर्माण गरिएको उक्त पुल प्रयोगविहीन हुँदा करोडौंको लगानीको अर्थ भएको छैन ।
एक त रत्ननगरको व्यस्त सडकमा निर्माण गरिएको उक्त पुल अपाङ्गमैत्री बन्न सकेन । अर्को पुल घुमाउरो छ, क्रस गर्न पनि यात्रुले धेरै समय खर्च गर्नुपर्छ । पुल धेरै हाइटमा छ, उक्लन पनि समय लाग्छ ।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन भन्छन, ‘स्थानीयकै माग अनुसार पुल निर्माण गरिएको हो, तर मानिसहरुले पुलको प्रयोग कम गरिरहेका छन् ।’ उनका अनुसार सौराहा चोकमा पनि आकाशे पुल बनाउने योजना थियो, टाँडी चोकमा प्रयोगविहीन भएको देखियो, त्यसैले सौराहा चोकमा नबनाउने निर्णय गरेका छौँ ।
रत्ननगर २ का वडा अध्यक्ष तिलकराज पौडेलले नगरपालिकाले ज्येष्ठ नागरिकमैत्री र बालमैत्री बनाउने भनिएको पुलको नक्सा बनाउने भनिए पनि गलत नक्सा तयार भएको बताए । उनले सबैका लागि पुल उयुक्त हुन् नसकेको स्वीकार गरे । उनले भने, ‘पुल जुन तरिकाले निर्माण गर्न भनिएको हो त्यो तरिकाले निर्माण हुन् सकेन। पुलमा दुवैतर्फ जाने बाटो छैन। एकतर्फी र धेरै घुम्नुपर्ने भएका कारण पैदल यात्रुले पुलको प्रयोग गर्न मान्दैनन्।’
पौडेलका अनुसार यस क्षेत्रमा पैदल यात्रुलाई ट्राफिक नियमको पालना गर्न र सडक दुर्घटनाका बारेमा जनचेतना फैलाउन आवश्यक देखिन्छ।
यस विषयमा स्थानीय तह, जनप्रतिनिधि, ट्राफिक प्रहरी र प्रशासनको मूख्य भूमिका रहन्छ। तर यसबारे सबै निकायले जनचेतना फैलाई स्थानीयलाई बाध्यकारी बनाएको भने देखिएको छैन। पुल संचालनमा आएको एक हप्तासम्म नगर प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो। प्रहरी परिचालन नहुँदा पैदल यात्रुले अटेरी गर्दै पुलको प्रयोग गर्न नमान्ने वडा अध्यक्ष पौडेलले बताए।

