चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको टोली यतिबेला चितवनमा सक्रिय भइरहेको छ । अख्तियारको टोली भ्रष्टाचारको उजुरी परेका कार्यालयहरुमा पुगेर प्रमाणहरु संकलन गरिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी उपसचिव विष्णुप्र्रसाद सापकोटाका अनुसार विभिन्न कार्यालयहरुमा पुगेर प्रमाणहरु बटुल्ने काम भइरहेको छ । सूचना अधिकारी सापकोटाले भने, ‘अख्तियारमा भ्रष्टाचारको उजुरी परेका धेरै फाइलहरु संकलन भएका छन्, उजुरी परेका कार्यालयहरुमा अख्तियारको टोलीले प्रमाणहरु बटुल्ने काम गरिरहेको छ । टोली चितवनमै नियमित काममा निरन्तर लागिरहेको छ ।’
उनका अनुसार यतिबेला अख्तियारको टोलीले उजुरीको आधारमा सरकारी मातहतमा रहेका कार्यालयहरुमा पुगिरहेको छ । उनले रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पुगेर थप प्रमाणहरु संकलन गरिएको बताए । उनले भने, ‘छापा मारेको होइन, प्रमाणहरु बटुल्न अख्तियारको टोली त्यहाँ पुगेको हो, यस्तै अख्तियारको टोलीले चितवनका अन्य कार्यालयहरुमा पुगेर प्रमाणहरु संकलन गरिरहेको छ । यो नियमित प्रक्रियाभित्रै पर्छ ।’ उनले चितवनका अन्य कुनकुन कार्यालयमा पुगेर प्रमाणहरु संकलन गरिरहेको छ भन्ने प्रश्नमा थप कागजातहरु संकलनमा बाधा पर्ने हुनाले गोप्य राख्नुपर्ने बताए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयले तीन वर्षअघि फर्निचरका सामग्रीहरु खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार कार्यालय हेटौँडामा उजुरी परेको थियो । सोही उजुरीको आधारमा थप प्रमाण लिन अख्तियारको टोली विश्वविद्यालय पुगेको स्रोतको भनाइ छ । अख्तियारको टोलीले विश्वविद्यालयबाट थप प्रमाणहरु संकलन गरेको छ ।

