मकवानपुर। प्रहरीले जुवा खेलेको आरोपमा पक्राउ परेका ६ जनाविरूद्ध करणीको मुद्दामा पनि अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार दिउँसो जुवा खेल्ने पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
पक्राउ पर्नेमा ४० वर्षीय रुस्तम कोइराला, ५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय बिनोद घर्ती र चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय सुरेश पौडेल छन्।
प्रहरीका अनुसार खालबाट पक्राउ परेको पाँच जना र अनुसन्धानको क्रममा पक्राउ परेको थप एक जनाले किशोरीलाई बन्धक बनाएर करणी गरेको खुल्न आएको छ । ती किशोरीले आफूलाई बन्धक बनाई करणी गरेको उजुरी दिएपछि उनीहरुमाथि मुद्दा दर्ता गरिएको हो । उनीहरूलाई प्रहरीले हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ रुस्तम कोइरालाको डेराबाट पक्राउ गरेको हो।
नाबालिकामाथि करणी गरेको भन्ने जाहेरी हिजो बेलुकी आयो। बालिकालाई कोठामा लगेको र उनीहरूको संलग्नतामा यो घटना भएको भनेपछि हामीले अनुसन्धान अघि बढाएका हौं,’ डिएसपी रिमालले भने।
पैसा बाजी राखेर हारजीत हुनेगरी जुवा खेलिरहेको भन्ने सूचना पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। उनीहरूबाट २८ हजार नगद र ६ वटा तास बरामद गरेको थियो। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न उनीहरूलाई जिल्ला अदालतमा लगिएको छ।