पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।
मुख्यमन्त्री गुरुङले आफूलाई बलियो बनाउनका लागि मनाङेलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए । तर, मनाङेले साथ नदिँदा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना छैन । बरु मनाङेको साथले विपक्षमा बहुमत पुग्ने देखिएको छ । मनाङेले बुधबार प्रदेशसभा सदस्य राजीव पहारी लगायतका सँगको भेटमा पनि संसद विघटन हुने अवस्था नआए हुन्थ्यो भन्ने बिचार राखेका थिए ।
सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बने पनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ । विश्वासको मत पाउन मुख्यमन्त्री गुरुङले ३१ मत पाउनुपर्छ । ६० सदस्य रहेको प्रदेशसभामा एमालेको पक्षमा २८ सदस्य (स्वतन्त्रका मनाङेसहित) छन् । त्यसमा पनि माधवकुमार नेपाल पक्षका एकजना सदस्य छन्। मनाङेले मुख्यमन्त्रीलाई साथ नदिँदा र नेपाल पक्षका सदस्य इन्द्रलाल सापकोटाले फ्लोर क्रस गरेको खण्डमा विपक्षमा बहुमत पुग्ने पक्का जस्तै भएको देखिएको छ ।
कुनैबेला ग्याङस्टरका रुपमा कहलिएका मनाङे पटक पटक जेल समेत परेका थिए । काठमाडौंमा निकै परिचित मनाङेले मनाङ ख बाट प्रदेश सभाको चुनाव जितेर स्वतन्त्र सांसद बनेका थिए । एमालेमा सक्रिय उनको हैसियत भने स्वतन्त्र सांसदकै छ ।