चितवन।राष्ट्रिय भूमि आयोग चितवनले जिल्लाका स्थानीय तहहरुमा जग्गाको निस्सा बाँड्ने अभियान तीव्र पारेको छ ।
भुमिहीनहरुलाई लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सा सँगै जग्गा नाँप जाँच कार्य तीव्र पारेको राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिनाले जानकारी दिए ।
यतिबेला जिल्लाको भरतपुर महानगरसहित कालिका नगरपालिका र माडी नगरपालिकामा समेत आयोगले निस्सा वितरण र जाँच तीव्र पारेको तिमिल्सिनाले बताए ।
सोही अभियानअन्र्तगत आज भरतपुर महानगरको वडा नम्बर १२ मा भरतपुर महानगरकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह र राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष राष्ट्रिय बद्री तिमिल्सिना र वडा अध्यक्ष नरेन्द्र कन्दङवाले संयुक्त रुपमा नापजाँच प्रक्रियाका लागि निस्सा वितरण गरेका हुन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले अब जग्गा नापजाँचको कार्यलाई पनि तीव्र ढंगले अगाडि बढाइ जति सक्दो छिटो भुमिहिनलाई भुमिपति बनाइने बताइन् । ‘सुकुमबासीलाई जग्गा दिन अमिनसहितको टोली फिल्डमा छन’् उनले भनिन्, ‘अहिले ७ वटा वडामा काम भइहेको यहाँ पनि ५ दिनपछि नापजाँच हुन्छ । ” यस्तै उपमेयर पार्वती शाहले आफूहरुले गरेको बाचाअनुसार निस्सा वितरणसँगै लालपूर्जा वितरण गर्न पाउँदा निकै खुसी लागेको बताइन् । जग्गाको निस्सा पाएपछि स्थानीय उत्साहित भएका थिए ।
राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले अब बोलेर मात्र नभई चितवनभरका सुकुमबासीहरुलाई लालपुर्जा वितरण गरेर देखाउने बताए । तिमिल्सिनाले आफूलाई जिल्लाको सबै भूगोल र अवस्थाको बारेमा जानकारी भएकाले वास्तविक भूमिहीनलाई जग्गा दिलाएरै छाड्ने दाबी गरे ।

