चितवन।नेपाली कांग्रेस चितवनको अधिवेशन सर्दा अचम्म मान्नुपर्ने अवस्था अब रहेन । अधिवेशनको मिति पटकपटक सरिरहेको छ । अधिवेशनको मिति मुखमा आइरहँदा फेरि कांग्रेस चितवनको अधिवेशनको मिति सरेको छ ।
फागुन १३ गते हुने भनिएको चितवन कांग्रेसको अधिवेशन फागुन १५ गते पुगेको छ । चितवनको मात्र होइन, १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीको जिल्ला अधिवेशन फागुन १३ गते हुने भनिएको थियो । यी जिल्लाहरुमा अब फागुन १५ गते अधिवेशन हुने भनिएको छ । कांग्रेसको अधिवेशन पटकपटक सर्दा कार्यकर्तामा अन्यौल छाएको छ । किन अधिवेशन सरिरहेको छ भन्ने विषयमा कांग्रेस बोलेको छैन ।
सचिव केशव रिजालका अनुसार विशेष कारणले कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको चितवनको अधिवेशन दुई दिनपछि सारिएको हो ।

