काठमाडौँ। गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङ्गे (राजिव गुरूङ)का भाइ कोर्तो गुरूङ जेठ १६ लागुऔषधसहित पक्राउ परेपछि अहिले ललितपुर प्रहरीको हिरासतमा छन्।
कुनै बेला गुण्डाको छवि बनाएका मनाङे मन्त्री हुँदा उनका भाइ अहिले हिरासतमा छन्। कोर्तोको आपराधिक पृष्ठभूमि लामो छ। पकनाजोल बस्ने कोर्तो गुरूङलाई अजय वा रेम्बो भनेर पनि चिनिन्छ। विभिन्न घटनामा उनी धेरै पटक पक्राउ परिसकेको ललितपुर प्रहरी बताएको छ।
‘यसपालि उनी लागुऔषधको मुद्दामा सेवनकर्ताको रूपमा पक्राउ परेका छन् । उनी ४१ ग्राम आइस नामक लागुऔषधसहित पक्राउ परेका हुन्।
यो लागुऔषध एक ग्रामकै १२ देखि १४ हजार वा सो भन्दा बढीमा किनबेच हुने गरेको छ । पक्राउ परेका कोर्तोले लागुऔषधको कारोबार नगरेको तर आफैं सेवन गर्ने गरेको प्रहरीसमक्ष बताएका छन्।
कोर्तो १०-१२ वर्षको अन्तरालमा धेरै पटक पक्राउ परिसकेका छन्। उनीविरूद्ध अभद्र व्यवहार, झगडा, लागुऔषध लगायतको मुद्दामा पक्राउ परेका थिए।
अहिले प्रहरीले उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट १५ दिनको म्याद थपेको छ। लागुऔषधको मुद्दामा आरोपित व्यक्तिलाई ९० दिन सम्म हिरासतमा राख्न सकिन्छ।