काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा राखेर छापिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन्। केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा (लिपुलेक, कालापानी र लिम्पियाधुराविहीन नक्सा) राखेर पुस्तक छाप्दै विक्री गरेको पाइएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बुधवार भएको ८८ औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन पनि दिएका थिए।
उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन्।