चितवन । कोरोना खोपबाट बञ्चित भएका आफ्ना कर्मचारीहरुलाई खोप उपलब्ध गराउन चितवन मेडिकल कलेज (सिएमसी)ले स्वास्थ्य कार्यालय चितवनलाई आग्रह गरेको छ ।
अस्पतालमा थप भएका प्राविधिक तथा अप्राविधिक (डाक्टर, नर्स, प्यारामेडिक, विद्यार्थी र एटेन्डेन्ट) कर्मचारीका लागि खोप व्यवस्था गर्न सिएमसीले स्वास्थ्य कार्यालयलाई पत्र पठाएर आग्रह गरेको हो ।
अस्पतालमा स्नातकोत्तरमा अध्ययनका लागि आएका डाक्टरहरु समेत कोरोना संक्रमितको उपचारमा खट्नुपर्ने भएकाले खोप उपलब्ध गराइदिन भनिएको सिएमसीका एकेडेमिक डाइरेक्टर प्राडा गोपेन्द्र प्रसाद देवले बताए । यसअघि सिएमसीमा काम गर्दै आएका डाक्टर तथा कर्मचारीहरुले पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन् ।रासस