बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धको मूर्ति राख्न थालिएको छ । भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने बताइएको छ ।
पँहेलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भागमा रहेका डिभाइडरमा राखिएको हो । लुम्बिनी प्रदेश सरकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट मूर्ति राख्ने काम भइरहेको हो । बुद्धमूर्ति उपभोक्ता समितिका अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राख्ने जानकारी दिनुभयो ।
मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको थियो ।सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको बताउनुभयो ।
बुद्धमूर्ति राखिए पछि पर्यटकले नाका प्रवेश गर्नासाथ बुद्धभूमिमा आएको महसुस गर्न सक्ने र शान्तिको सन्देश लिएर फर्कने मन्त्रालयको भनाइ छ ।