चितवन । निर्वाचन घोषणा भएसँगै चितवनमा पार्टी प्रवेशका कार्यक्रमहरु हुन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्रले पार्टी प्रवेशका कार्यक्रमहरु ल्याएका छन् ।
भरतपुर महानगर ११ गणेशथानमा नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश एवं पद हस्तान्तरण कार्यक्रम गरेको छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्वाचन आचारसंहिता लाग्नु पूर्व नै भुमिहीनले लालपुर्जा पाइसक्ने बताएकी छन् । भरतपुर महानगरसहित चितवनका ३ स्थानीय तहमा अहिले भूमिहनलाई लालपुर्जा बितरण गर्ने गरी निस्सा वितरण र नापीको काम सुरु भएको छ ।

निस्सा वितरण भएको ३५ दिनभित्र रातो पुर्जा वितरण गर्ने गरी आयोगले धमाधम काम गरेको बताउदै दाहालले स्थानीय तह निर्वाचन आचारसंहिता लाग्नु पुर्व नै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने दाबी गरिन् ।
मेयर दाहालले आफु निर्वाचन जितेर आएपछि महानगरको विकासमा धेरै फड्को मारेको दावी समेत गरिन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २२२ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई महानगर प्रमुख तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य रेनु दाहालले अबिर र खादा लगाएर पार्टी प्रवेश गराएकी थिइन् ।

