चितवन।चितवनका विद्यार्थीले यतिबेला धमाधम कोरोना भाइरसविरुद्धको मोर्डना खोप लगाइरहेका छन् । माघ २७ गतेसम्म खोप लगाउने समय छ ।
हालसम्म चितवनका ६ पालिकामा खोप लगाउने विद्यार्थीको संख्या ३५ हजार २१८ पुगेको छ । चितवनका ६ पालिकाका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले खोप लगाइरहेका छन् । खैरहनी नगरपालिकाका विद्यार्थीले यस अघि नै खोप लगाइसकेका छन् । खैरहनीका ५ हजार बढी विद्यार्थीले यसअघि नै खोप लगाइसकेका छन् ।
भरतपुर महानगरमा खोप लगाउने विद्यार्थीको संख्या २० हजार ६६२ पुगेको छ । यस्तै, माडी नगरपालिकामा २ हजार ५८८, रत्ननगर नगरपालिकामा ६ हजार २४४, राप्ती नगरपालिकामा २ हजार २२१, कालिका नगरपालिकामा २ हजार ५५८ र इच्छाकामना गाउँपालिकामा एक हजार ४५ जनाले खोप लगाइसकेका छन् ।
आज मंगलबार पनि चितवनका ६ पालिकाका विद्यालयहरुमा खोप कार्यक्रम चलिरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । १२ देखि १७ वर्ष उमेर समूहका २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयहरुमा खोप केन्द्र राखिएको छ ।
फागुन १ गतेदेखि भौतिक रुपमा विद्यालय खुलाउने प्रस्ताव त शिक्षा मन्त्रालयमा पुगेको छ, तर विद्यालय खोल्ने या नखोल्नेमा कुनै निर्णय भइसकेको छैन ।

