चितवन ।भरतपुरमा रहेको मानव सेवा आश्रमलाई आज रत्ननगर नगरपालिकाले आर्थिक सहयोग गरेको छ। सार्वजनिक स्थलमा बेसहारा जीवन बिताइरहेका बालबालिका, वृद्धवृद्धा तथा अशक्त व्यक्तिहरुको उद्दार गरी संरक्षण गर्दै आइरहेको मानव सेवा आश्रमलाई नगरपालिकाले नगद ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।
आश्रमको शाखामा पुगेर नगर प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हन्। चेक हस्तान्तरणपछि नगर प्रमुख वनले मानव सेवा आश्रमले मानवताको लागि निभाएको भूमिकाको प्रशांसा गरेर नसकिने बताए। ‘यो आश्रम सडकमा जीवन बिताइरहेका वृद्धवृद्धा, अशक्त तथा बालबालिकाको मन्दिर हो,’ उनले भने, ‘यहाँ जति सहयोग गरे पनि कम हुन्छ।’ स्थानीय सरकारको हैसियतले मान्छेको बाँच्न पाउने अधिकार सुरक्षित गरिरहेको आश्रमलाई सहयोग गर्ने दायित्व भएको उनले बताए।
उप प्रमुख विमला दुवाडीले सडकमा जीवनयापन गरिरहेका वृद्धवृद्धाहरुलाई नयाँ जीवन प्रदान गरेर मानव सेवा आश्रमले मानवताको ठूलो उदाहरण पेश गरेको बताइन।आश्रमका अध्यक्ष अधिकारीले सम्भव भएसम्म अर्को वर्ष नेपाललाई नै सडक मानवमुक्त देश घोषणा गर्ने अभियानमा लागि परेको बताए। ‘सकभर आश्रम खोल्ने र सञ्चालन गर्ने अवस्थाको अन्य गर्ने प्रयासमा हामी छौं,’ उनले भने, ‘त्यसका लागि मानवता प्रवर्द्वनको कार्यक्रम सञ्चालन गर्नुपर्ने हामीमा जिम्मेवारी छ।’ तीनै तहको सरकारको सहयोग भयो भने लक्ष्य हासिल गर्न धेरै समय नलाग्ने उनको भनाइ छ।
रकम हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो,वडा नं १० का वडाध्यक्ष केशव आचार्य,प्रशासकीय अधिकृत अर्जुन पंगेनी लगायतको सहभागिता रहेको थियो । यसैबीच नारायणगढको बेलचोकमा निर्माणाधिन मानब सेवा आश्रमको भवनको मेयर वन,उपमेयर दुवाडी सहितका जनप्रतिनिधिहरुले अबलोकन गरेका छन् ।