काठमाडौं । बौद्धको टाउन प्लानिङमा बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ । सुरुमा शव भएको अनुमान गरिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो ।
घटनास्थलमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंह र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरसमेत पुगेका थिए । फरेन्सिक डाक्टरले कुनै व्यक्तिको शरीरबाट दुई-तीन हप्ता अगाडि नै खुट्टा अलग गरिएको हुनसक्ने बताएका छन् ।
घटना अन्तै गराएर खुट्टा बौद्धमा व्यवस्थापन गरिएको हुन सक्ने अनुमान प्रहरीको छ । प्रहरीले कोही मानिस हराएको सूचनाको अध्ययन गरी घटनाको अनुसन्धान प्रक्रिया थालेको एसएसपी सिंहले बताए । खुट्टा पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।