चितवन। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा आजै सहभागी हुने भएको छ। मन्त्रालयको सबै संख्या टुंगो नलागे पनि मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस र माओवादीका एक एक जनालाई मन्त्री बनाउन लागेका हुन्। जनता समाजवादी (तत्कालीन संघीय समाजवादी) को नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले समर्थन गर्ने भएका हुन्।
केन्द्रीय गठबन्धनको नीतिअनुरुप नै राउतले महन्थ ठाकुरपक्षीय चार जना मन्त्रीलाई आइतबार बर्खास्त गरेका छन्। महन्थपक्षका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अविराम शर्मा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई आइतबार बर्खास्त गरिएको थियो। केन्द्रको गठबन्धनअनुसार सत्ता समीकरण हुने भएपछि राउतले महन्थपक्षका मन्त्री हटाएका हुन्।
कांग्रेसबाट रामसरोज यादव र माओवादी केन्द्रबाट भरत साह मन्त्री बन्ने निश्चित भएको छ । यादव कांग्रेस प्रदेश २ संसदीय दलका नेता हुन् भने साह पनि प्रदेश २ माओवादी केन्द्रका संसदीय दलका नेता नै हुन्। यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय दिने समझदारी बनिसकेको छ। तर, माओवादी केन्द्रका साहले पाउने मन्त्रालयको टुंगो लागेको छैन।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसले चाहेको थियो। तर, उपेन्द्र पक्ष बलियो रहेको हुनाले उसकै नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णयमा कांग्रेस पुगेको छ।
जसपा (यादवपक्ष) ३६, कांग्रेसका १९ र माओवादीका आठ सांसदसहित राउत थप बलियो बनेका छन्।