चितवन । गत सोमबार माधवप्रसाद गिरी कावासोती १३ स्थित घरमै बसिरहेका थिए । उनी पेसाले अटो चालक हुन् । राति ९ बजे खाना खाएर गिरी सुत्ने तर्खर गर्दै थिए । एक जना अपरिचित व्यक्ति गिरीको घर आएर कावासोती बजार जानुछ, अटोमा लगिदिनुप-यो भने । गिरी अपरिचित व्यक्तिलाई अटोमा राखेर हिँडे । राति अबेलासम्म घर फर्केनन् । घरपरिवारले कतै बसे होलान् भन्ठानेर राति नै खोजतलास खासै गरेनन् । बिहानपख खोजी कार्य भयो ।
खोज्नेक्रममा कावासोती नगरपालिका वडा नं १३ गैरी घर भएका ५२ वर्षीय गिरी घर नजिकैको सिमसार घोलमा मृत फेला परे ।
‘सिमसार घोलमा आधा शरीर पुरिएको अवस्थामा शव भेटिएको हो, शव नदेखियोस् भनेर स्याउला (कर्कलोको पात) राखिएको थियो’ जिल्ला प्रहरी कार्यालय कावासोतीका सूचना अधिकारी दिलिपकुमार गिरीले भने । उनका अनुसार प्रहरीको प्रारम्भिक विवरणअनुसार गिरीको हत्या भएको देखिन्छ ।
गिरीको शव भेटिएको ठाउँ घरदेखि ५०० मिटर फरकमा छ । शव भेटिएको ठाउँ र अटो फेला परेको ठाउँ १०० मिटर फरकमा छ । प्रहरीका अनुसार गिरीलाई अटोबाट घिसारेर लगेको जस्तो देखिन्छ । गिरीको गोजीमा भएका कागजातहरु सडकभरि छरिएका कावासोती १३ का वडाध्यक्ष विनोद रानामगर बताउँछन् । उनी भन्छन्, ‘गिरीको परिवार त्रिवेणी गाउँपालिकाबाट दुई वर्षअघि बसाइँ सरेर आएका थिए, समाजमा सबैका प्रिय नै थिए । आफ्नो अटो चलाएर जीवन गुजारा गरिरहेका थिए ।’
प्रहरीले गिरीको हत्याको आशंका गर्दै अनुसन्धानलाई अगाडि बढाएको छ । प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको कावसोती प्रहरीले जनाएको छ । गिरीको शव खाल्डोबाट निकालेर पोष्टमार्टमको लागि दुम्कौली स्वास्थ्य केन्द्रमा लगिएको छ ।