काठमाडौँ। कसैले कसैलाई फेसबुक, ट्विटर वा इमेल जस्ता विद्युतीय माध्यमबाट अश्लील शब्द प्रयोग गरेमा पनि यौन दुर्व्यवहार भएको कसुर हुन्छ। मुलुकी अपराध संहिता विधेयक २०७४ मा पुरानो मुलुकी ऐनमा रहेको आशय करणीका व्यवस्थालाई प्रविधिमा पनि जोडेको छ।
यसअघि इकमर्सलाई व्यवस्थित गर्न ल्याइएको विद्युतीय कारोबार ऐनको दफा ४७ लाई आधार बनाएर नेपाल प्रहरीले साइबर क्राइमलाई सम्बोधन गर्दै आएको थियो।
नयाँ मुलुकी अपराध संहिताको दफा २२४ मा यौन दुर्व्यवहार हुने १० अवस्था उल्लेख छ-
कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मन्जुरी बिना करणीका आशयले समातेमा
निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा,
निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा,
निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधाअवरोध गरेमा
निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा,
यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा,
निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक वा लिखित वा सांकेतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा,
अश्लील चित्र वा तस्वीर देखाएमा,
यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा
निजसँग अन्य अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ ।
यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ।