चितवन । कामना सेवा विकास बैंकले चितवनका चेपाङ्ग समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । चितवनको विकट क्षेत्र राप्ती नगरपालिकाका वडा नम्बर १३ चेपाङ बस्तीलाई लक्षित गरी एक महिनाका लागि पुग्ने खाद्यान्न सहयोग गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका र सिमान्तकृत चेपाङ् समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकका क्षत्रीय प्रबन्धक सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । ‘ चेपाङ्ग सुमुदाय आफैमा विपन्न वर्ग र पिछडिएको समुदाय हो, उहांँले भन्नुभयो , जंगलमा आश्रित समुदायलाई केही राहत पुगोस भन्ने हेतुले खाद्यान्न सहयोग गरेका हौं ।’ चेपाङ्ग समुदायको उत्थानको लागि सञ्चालित मितेरी फाउण्डेशनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाविन , नुन लगायतका खाद्यसामाग्री वितरण गरिएको भण्डारीले बताउनु भयो ।
६ महिना अनिकाल छ महिना सहकालमा जीवन व्यथित गर्दै आएका चेपाङ्ग समुदायका दैनिक जीवनयापनमा सहज होस भन्ने हेतुले खाद्यान्न सहयोग गरिएको बैंकका सिएसआर संयोजक विन्दु सिंजालीले जानकारी दिनुभयो । उहाँका अनुसार कामना बैंकका कर्मचारीले पनि स्वेच्छाले रकम संकलन गरी खाद्यान्न वितरणमा सहयोग गरेका थिए । बैंकले यसअघिपनि जिल्लाका सामुदायिक स्कुलमा स्टेशनरी, पोशाक वितरण, रक्तदान कार्यक्रम , स्वास्थ्य सचेतना तथा सरसफाईका कार्यक्रमलाई समेत निरन्तरता दिंँदै आएको छ । बैंकको नारायणगढ क्षेत्रीय मातहतमा १४ वटा शाखा सञ्चालनमा छन भने जिल्लामा ६ वटा शाखा छन ।