चितवन । स्वास्थ्य कार्यालय चितवनले आज केही कुष्ठरोगीलाई पोष्टिक आहार वितरण गरेको छ । कार्यालयले एक संक्षिप्त कार्यक्रम आयोजना गरी सङ्क्रमितलाई पौष्टिक खानेकुरा वितरण गरेको छ । सो अवसरमा पौष्टिक खानेकुराका साथै मास्क, सेनिटाइजर र साबुन वितरण गरिएको थियो । सो अवसरमा छ जनालाई ती सामग्री वितरण गरियो । जिल्लाका सबै सङ्क्रमितलाई पालिकामार्फत पौष्टिक खानेकुरा पु¥याइने कार्यक्रम रहेको छ ।
पोष्टिक आहारले मात्र कुष्ठरोगी खुसी भएका छैनन् । उनीहरुले समाजमा उचित सम्मान खोजेका छन् । समाजमा हुने छिछि र दुरदुरलाई तोड्न भनेका छन् । कुनै एउटा मानव कुष्ठरोगी हुँदैमा उनलाई किन हेला गरिन्छ ? आज कुष्ठरोगीले समाजमा माया खोजेका छनु्, सद्भाव खोजेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले रोगका बारेमा सबैलाई जानकारी हुने गरी सन्देश प्रवाह गरिरहेको बताएका छन् । उनका अनुसार कुष्ठरोगीले समाजमा उचित सम्मान, माया र ममता खोजेका छन्, कुष्ठरोगी घृणाको पात्र होइनन्, मायाको पात्र हुन् । सबैले माया र ममता दिनुपर्छ । हेला र घृणा गर्नुहुँदैन । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुने र एकमात्रा बहुऔषधि सेवन गरेपछि ९९.९ प्रतिशत किटाणु निष्क्रिय भई अरुलाई नसर्ने हुन्छ ।
कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । तिवारीले औषधि खाएकाबाट रोग नसर्ने भएकाले समाजले उहाँहरुप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने बताउनुभयो । आफ्नो गाउँ समाजमा कुष्ठरोग लागेको शङ्का लागेमा तुरुन्त परीक्षण गरी औषधि खाने व्यवस्था गर्न उनले सबैमा आग्रह गरे । उनले भने, “हामीले पनि विभिन्न शिविरमार्फत खोजी जारी राखेका छौँ, सबै मिलेर रोगलाई निर्मूल पार्नुपर्छ ।”
भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले कुष्ठरोग भएका र निको भएकाको परिवार एवं नजिक रहेर काम गरेकालाई औषधि खुवाउने काम भइरहेको बताए । विसं २०५१ देखि हालसम्म एक हजार ७९१ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । तिनीहरुको परिवार र सम्पर्कमा आएकाको खोजी गरी औषधि खुवाउने काम भइरहेको छ ।
स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हाल जिल्लामा ४६ जनाले नियमित औषधि खाइरहेको जानकारी दिनुभयो । जसमध्ये २० जना नयाँ थपिएका हुन् । गत आर्थिक वर्षमा ४५ जना नयाँ रोगी थपिएका थिए ।

