काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई आधुनिकीकरण, विद्युतीय माध्यमको पूर्ण उपयोग र समग्र पूर्वाधारलाई प्रविधिमैत्री बनाउन आवश्यकता रहेको बताएका छन् ।
भन्सार दिवसका अवसरमा शुभकामना सन्देशमार्फत अर्थमन्त्री शर्माले भनेका छन्, ‘सेवाग्राहीलाई झन्झटरहीत सरल र पारदर्शी सेवा आवश्यकता हो । भन्सार जाँच पासलाई सरल बनाउन आधुनिक उपकरण समेतको व्यवस्था गर्न जरुरी छ ।’
भन्सार प्रशासनमा कार्यरत कर्मचारीले केवल आफ्नो पेसाका लागि मात्र नभई देशकै अर्थतन्त्रलाई बलियो बनाउने जिम्मेवारी भएकोसमेत बोध हुनुपर्ने उनले उल्लेख गरेका छन् ।
अर्थमन्त्री शर्माले विगत दुई वर्षदेखिको कोभिड(१९ संक्रमणलाई समेत न्यून गर्न भन्सार प्रशासनले निसंक्रमण तथा शीघ्र जाँच पासका उपाय अपनाएर आपूर्ति व्यवस्थालाई नियमित गर्न र वैदेशिक व्यापारलाई सहजीकरण गर्दै आएको बताएका छन् ।
भन्सार दिवसको अवसरमा सुरुवात भएको विद्युतीय भुक्तानी प्रणालीको दिगोपन कायम गरी भन्सार प्रशासनको आधुनिकीकरण, विकास र प्रविधियुक्त कार्य प्रणालीको व्यापार लागत घटाउन र व्यापार सहजीकरण तथा राजस्व चुहावट नियन्त्रण गर्न सफलता मिलोस् भन्दै उनले शुभकामना दिएका छन् ।

