मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं–५ का सीमान्तकृत चेपाङ समुदायलार्ई खाद्यान्न वितरण गरिएको छ । मेची–महाकाली बुहारी संयुक्त आवाज जिल्ला शाखा चितवनले निषेधाज्ञाका कारण समस्यामा परेका ५० घरपरिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।
शुक्रबार आयोजित कार्यक्रममा प्रतिपरिवार ३० किलो चामल, दाल, नुन, तेल प्रदान गरिएको संस्थाकी जिल्ला सदस्य तथा इच्छाकामनाकी प्रतिनिधि सावित्री पुडासैनीले जानकारी दिइन् । ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका चेपाङ समुदायमा भोकमरी लाग्न सक्ने अवस्थालाई मध्यनजर गरी खाद्यान्न सामग्री वितरण गरिएको उनले बताइन् ।
पूर्वसांसद् अञ्जनी श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा प्रदेश सांसद् मिलनबाबु श्रेष्ठ, वडा अध्यक्ष मोदराज सिलवाल, संस्थाका केन्द्रीय सल्लाहकार सूर्यहरि मरहट्ठा, बागमती प्रदेश सल्लाहकार कल्पना पौडेल, सोमराज सुवेदी, विष्णु कुँवर, यानबहादुर गुरूङलगायतले मन्तव्य राखेका थिए ।
संस्थाकी जिल्ला संयोजक महेश्वरी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक उषा खरेल सुवेदीले स्वागत मन्तव्य तथा सचिव प्रेमप्रभा अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।