चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १३८ जना संक्रमित थपिदा ९०३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमण मुक्त हुनेहरुमा अधिकांश होम आइसोलेसनमा बसेका संक्रमित छन् ।
होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई सम्पर्क गरेपछि अधिकांश संक्रमितहरु निको भइसकेको जानकारी आएको स्वास्थ्य कार्यालय चितवनकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् ।
केन्द्रिय स्वास्थ्य प्रोटोकल अनुसार १४ दिन आइसोलेसनमा बसेका संक्रमितमा कोरोनाको कुनै लक्षण देखिएन भने संक्रमण मुक्त मानिने ढकालले बताइन् । यसअघि दिनमा पाँच सय जनासम्म संक्रमणमुक्त हुने गरेकामा पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या बढेको हो ।
पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ की ५२ बर्षीय महिला छन् । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जेठ १५ गते अस्पताल भर्ना भएकी उनमा सोहि दिन संक्रमण पुष्टि भएको थियो । उनको जेठ २० गते राति करिब ६ बजे मृत्यु भएको हो ।
जिल्लामा हाल सक्रिय संक्रमित तीन हजार ४१० जना रहेका छन् । जसमा अस्पताल आइसोलेसनमा १४७ जना, होम आइसोलेसनमा तीन हजार २३२ जना र सार्वजनिक आइसोलेसनमा ३१ जना रहेका छन् ।