चितवन । खैरहनी नगरपालिका-८ चौबिसकोठी पर्सामा सञ्चालन भइरहेको हेल्प डेक्स खैरहनीले निःशुल्क फुड एम्बुलेन्स सेवा सञ्चालनसँगै कोभिड १९ संक्रमित प्रेमोपहार कार्यक्रम पनि सुरु गरेको छ ।
खैरहनी नगरपालिकाभित्रका कोभिड संक्रमित बिरामीको मनोबल उच्च बनाउन तथा कोभिड बिरामीको वर्तमान स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै वर्तमान असहज परिस्थितिलाई सहजीकरण गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालनमा ल्याइएको हेल्प डेक्स खैरहनीका अभियन्ता मुरलीप्रसाद गजुरेलले बताए ।
हेल्प डेक्स खैरहनीले अतिविपन्न परिवारलाई निःशुल्क फुड एम्बुलेन्स सेवामार्फत खाद्यान्न वितरण गर्दै आइरहेको छ । खैरहनीभित्र बुधबारदेखि कोभिड १९ संक्रमण भएकाहरुको स्वास्थ्य अवस्था बुझी आत्मबल उच्च बनाउन स्वास्थ्य परामर्शसँगै पोषणयुक्त खाद्यवस्तुसहित प्रेमोपहार कार्यक्रम सुरु गरिएको हेल्प डेक्सका सूचना अधिकारी रामेश्वर रिजालले जानकारी दिए ।
रिजालका अनुसार हेल्प डेक्समार्फत् आर्थिक अवस्था कमजोर भएकाहरुका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था, चिकित्सा परामर्श, बिरामीका लागि अक्सिजनसहितको सवारी साधनको व्यवस्था, अक्सिजनको आवश्यक परेका बिरामीका लागि अक्सिजन सिलिन्डरको व्यवस्था, अतिविपन्न परिवारका लागि खाद्यान्न, नियमित औषधि सेवन गरिरहेका बिरामीका लागि औषधि घरमै पुर्याइदिने व्यवस्था, रगत अभाव भएका बिरामीका लागि रगत उपलब्ध गराइदिनेलगायतका सेवा सञ्चालन भइरहेको छ ।