चितवन । निषेधाज्ञामा दैनिक रोजगार नपाएका मजदुर तथा चेपाङ परिवारलाई किराना व्यवसायी संघ चितवनले तीन लाख रुपैयाँबराबरको खाद्यान्न वितरण गरेको छ ।संघले राप्ती नगरपालिका वडा नं ३ स्थित धमिले गाउँका मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको हो ।
संघका अध्यक्ष रविन्द्र श्रेष्ठले प्रतिपरिवार झन्डै २५ सय रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको बताए ।उनले भने, ‘दिनभर मजदुरी गरेर बिहान–बेलुका छाक टार्ने परिवारहरु यतिबेला काम पाएका छैनन्, राप्ती ३ धमिलेका घर परिवारहरु अवस्था जटिल बन्दै गएको अवस्था थाहा पाएर यहाँ आएर खाद्यान्न वितरण गरेका हौँ ।’
उनका अनुसार संघले प्रतिपरिवार एक बोरा चामल, एक किलो दाल, एक लिटर तेल, साबुन, नुन, बेसार, मसला, खुर्सानीलगायतका सामग्री वितरण गरेको हो । अध्यक्ष श्रेष्ठले भने, ‘संघमा आबद्ध सदस्यहरुबाट खाद्यान्न संकलन गरेर विपन्न परिवारलाई वितरण गरेका हौँ ।’ राप्ती ३ का वडाध्यक्ष राजकुमार उप्रेतीको सहभागितामा खाद्यान्न वितरण गरिएको किराना व्यवसायी संघले जनाएको छ ।