चितवन । नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले सीमाको विषयमा अहिलेको परमादेशी सरकार किन नबोलेको भनेर प्रश्न गरेका छन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा एमाले नेता बास्कोटाले भने, ‘गगन र विश्वप्रकाशहरु कहाँ छन् ? कालापानीको विषयमा किन बोल्दैनौँ ?’ नेता बास्कोटाले छिमेकी राष्ट्रका प्रमुखले हाम्रो नक्शाभित्र परेको कालापानीमा सडक निर्माण गर्न आदेश दिइँरहँदा अहिलेका परमादेशी सरकार चुपचाप भएको बताए ।
उनले भने, ‘अहिले देशभक्ति भनेका मन्त्रीहरु बोल्न पर्दैन ? मैले देशभक्त मन्त्रीलाई लाइट होइन, टुकी बालेर खोजिरहेको छु, कतै देख्दिन त ? नेता बास्कोटाले भने, ‘यो गैर देशभक्तको सरकार हो, परमादेशी सरकार हो, यसले केही गर्नै सक्दैन ।’ आगामी चुनावपछि एमालेले कसैको वैशाखी नटेकी एकल सरकार बनाउने दावी नेता बास्कोटाले गरे ।
उनले एमसिसीको विषयमा सरकारलाई संसदमा टेवल गर्न चुनौती दिए । उनले भने, ‘एमसिसी पास गर्ने कि फेल गर्ने संसदमा ल्याए भैहाल्यो नि, त्यतिबेला प्रतिपक्षले के बोल्ने हो बोलाउँला अहिले नै प्रतिपक्षले मनगणन्ते धारणा बनाउँदैन ।’ उनले भने, ‘फैसला हुने ठाउँमा सरकार छ, उसले के गर्ने हो एमसिसीलाई गरोस् न ।’ नेता बास्कोटाले सभामुखले गुरिल्ला शैलीमा प्रचण्डको आदेश मानेको आरोप लगाए । उनले भने, ‘सभामुखले गल्ती सच्याउनुपर्छ, नसच्चाएसम्म संसद प्रभावित भइरहन्छ ।’ बास्कोटाले स्थानीय तहको चुनावमा लाग्न सरकारलाई सुझाव दिए । स्थानीय तहको चुनाव भएन भने लोकतन्त्रमाथि कुठाराघात हुने नेता बास्कोटाको भनाइ छ ।

