मुग्लिन । चितवन उद्योग संघ इच्छाकामना इकाई समितिको सहकार्यमा इच्छाकामना क्षेत्रका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक उत्तर दायित्व बहनगर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीको सभापतित्वमा भएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीता गुरुङ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङ र चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले संयुक्त रुपमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्र, कुरिनटारका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कालिदास धौबजी, ईलाका प्रहरी कार्यालय, मुग्लिङका प्रहरी निरीक्षक सूर्य राना, पत्रकारहरुको तर्फबाट पत्रकार महासंघ प्रदेश परिषद् सदस्य हिरालाल गुरुङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम केन्द्रलाई पिपिई ३ थान, सेनिटाइटर ९०पिस, फेस शिल्ड ५० सेट, माक्र्स २५००पिस, पानी ५० कार्टुन, त्यस्तै ईलाका प्रहरी कार्यालय, मुग्लिङलाई पिपिई ३ थान, सेनिटाइटर ९०पिस, फेस शिल्ड ५० सेट, माक्र्स २५०० पिस, पानी २० कार्टुन र पत्रकारहरुलाई माक्र्स ७५० पिस, सेनिटाइजर १५ पिस, फेस शिल्ड १५ सेट हस्तान्तरण गरिएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसादअधिकारी, चितवन उद्योग संघका उपाध्यक्ष युग राज वस्ती, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु मदनचिरञ्जीवी पोखरेल, बिष्णु पौडेल, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई चितवन उद्योग संघ इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।
माडीका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
चितवन उद्योग संघ माडी इकाई समितिको सहकार्यमा बघौडा अस्पताल, कसरा गण सहित माडी क्षेत्रका सुरक्षाकर्मी र पत्रकारहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । सामाजिक उत्तर दायित्व बहन गर्ने उद्देश्यका साथ कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षता एवं चितवन उद्योग संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेको नेतृत्वमा बघौडा अस्पताल, इलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी कार्यालयका ५ वटै पोष्टहरु, माडी क्षेत्रमा कार्यरत पत्रकारहरुलाई माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यतामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरियो । सोही अवसरमा श्री खड्ग दल गण कसरालाई समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ढकाल र चितवन उद्योग संघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले संयुक्त रुपमा श्री खड्ग दल गण कसराका सेनानी आशिष तामाङ, सशस्त्र प्रहरी बल बनकट्टाका पूर्णकर गौतम र छरछरे पोष्टका बेलबहादुर वि.क., कल्याणपुर पोष्टका आनबहादुर गुरुङ मार्फत कान्छी बगही पोष्ट, बाँदरझुला पोष्टलाई हस्तान्तरण गरियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष तारा प्रसाद पौडेल, बघौडा अस्पतालका प्रमुख डा.रन्जु सिंह, जनस्वास्थ्य प्रमुख शिव सुवेदी, संघका कार्यसमिति सदस्य गोपाल प्रसाद गैरे, कार्यालय सहायक उमेश श्रेष्ठ लगायत माडी इकाई समितिका पदाधिकारी एवं सदस्यहरु, माडी क्षेत्रका पत्रकारहरु समेत उपस्थिति रहेको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमलाई चितवन उद्योग संघ माडी इकाई समितिका अध्यक्ष भोजराज खनालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।