चितवन । निषेधाज्ञाका कारण समस्यामा परेका रत्ननगरका अतिविपन्न परिवारलाई मंगलबार राहत सामग्री वितरण गरिएको छ ।
शान्तिमेड नेपाल स्वीट्जरल्यान्डसँगको सहकार्यमा नेवा मल्टीप्रपोज सोसाइटी रत्ननगरले वडा नं २ र ४ का ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका अतिविपन्न ६० घरधुरीलाई खाद्यान्न वितरण गरेको हो ।
सोसाइटीले प्रतिपरिवार ३० किलो चामल, २ किलो दाल, १ किलो चना, १ लिटर खाने तेल, स्याविन १ प्याकेट, आलु ४ किलो, नुन १ किलो, चिनी १ किलो, चियापत्ती १ प्याकेट र मास्क प्रदान गरेको सोसाइटीका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
निषेधाज्ञाका कारण चुलो बल्न छाडेका परिवारको पहिचान गरी मंगलबार ६० परिवारलाई खाद्यान्न वितरण गरिएको र बुधवार ६५ परिवारलाई वितरण गर्ने योजना रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
सोसाइटीका सदस्यहरुबाट संकलन गरी बनाइएको कोष र शान्तिमेड नेपालका संयुक्त लगानीमा राहत वितरण गरिएको उनले जानकारी दिए । वडा सदस्य रामकृष्ण श्रेष्ठसहित सोसाइटीका अध्यक्ष श्रेष्ठ, सचिव सुरेन्द्रलाल श्रेष्ठ, सदस्यहरु गोविन्द श्रेष्ठ, सूर्यमान श्रेष्ठ, दिनोज श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, विकास कर्माचार्य, रवीन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, रवीन जोशी, हिमराज बादे श्रेष्ठ, कृश श्रेष्ठ, जिआइ श्रेष्ठ, देवासी श्रेष्ठले राहत वितरण गरेका थिए ।
राहत वितरणका लागि स्थानीय सञ्जय लामा, दीर्घ चौधरी र सुकराम चौधरीले सहजीकरण गरेका थिए । यसैबीच, कोरोनाका कारण ज्यान गुमाएका रत्ननगर–३, शान्तिचोकको बाबुछोराको परिवारलाई रु १५ हजार रुपैयाँ सहयोग गरिएको सोसाइटीका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।