चितवन । राप्ती नगरपालिका वडा नं १ मा पर्ने पर्यटकीय गन्तव्य ‘परेवाकोट’अझै ओझेलमा परेको छ । पर्यटकीय गन्तव्य ‘परेवाकोट’लाई ‘हाइलाइट्स’मा ल्याउने निकाय खड्केको महसुस भइरहेको छ । पूर्वी पश्चिम लोकमार्ग राप्ती नगरपालिकाको पिप्ले महादेवटारबाट उत्तरतर्फ ३ किलोमिटर उकालो चढेपछि सदरमुकाम भरतपुरबाट ४० किलोमिटर टाढा परेवाकोट डाँडामा पुगिन्छ । पैदल जानेका लागि छोटो मार्ग पनि छ । परेवाश्वरी पुग्न अहिले मोटरबाटो निर्माण भएको छ ।
भक्तपुरको नगरकोटको झल्को दिने परेवाकोट चेपाङ बस्तीले ढाकिएको छ । २०६४ पुस १७ गते पूर्वी चितवनस्थित रत्ननगर उद्योग वाणिज्य संघको पर्यटन प्रवर्द्धन कार्यक्रममा परेवाकोट पुग्दा पत्रकार, विद्यार्थी, समाजसेवी, लब्ध प्रतिष्ठित व्यक्ति चढेको ट्याक्टर दुर्घटनामा परेको थियो । तत्कालीन समयमा तीन जनाको मृत्यु भएको थियो । केही घाइते भएका थिए।
रत्ननगर उद्योग वाणिज्य संघले फेरि रत्ननगर महोत्सवको आयोजना गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघले फेरि रत्ननगर महोत्सव गरिरहँदा ओझेलमा परेको पर्यटकलाई हेरेको छ कि छैन ? यसअघि भएका महोत्सवको आम्दानी परेवाकोटको विकासमा रत्ननगर उद्योग वाणिज्य संघले लगायो कि लगाएन ? यो गम्भीर विषय बनेको छ । स्थानीयका अनुसार रत्ननगर महोत्सवको आम्दानी परेवाकोटको विकासमा खर्च भएको छैन । रत्ननगर उद्योग वाणिज्य संघले पनि परेवाकोटको विकासमा चुकेको बताइरहेको छ ।
राप्ती वडा नं १ का वडाध्यक्ष सिद्धिलाल स्याङतानले परेवाकोट ओझेलमा परेको र यसको विकासमा लाग्ने निकायको खोजी भइरहेको बताए । उनले भने, ‘परेवाकोट अझै ओझेलमा परेको छ, यसको विकास हुन सकेको छैन, सम्बन्धित निकायहरुको नजरमा परेवाकोट पर्न सकेको छैन ।’ उनले रत्ननगर उद्योग वाणिज्य संघले लगाउने महोत्सवको आम्दानीको केही हिस्सा परेवाकोटमा लगाउनुपर्ने बताए ।
उनले भने, ‘यसको प्रवद्र्धन गर्न भनेर महोत्सव लगाइन्छ भने यसको विकासमा केही त गर्न पर्छ, तर हालसम्म महोत्सवको आम्दानी परेवाकोटको विकासमा लगाइएको छैन ।’ उनले परेवाकोटसम्म पुग्ने बाटोसमेत राम्रो नबनेको बताए । उनले भने, ‘हाइवेबाट ५ किलोमिटर नाममात्रको पिच छ, सबै भत्केको छ, बर्खामा जान सकिदैन । परेवाकोटसम्म कालोपत्रे छैन । लगभग तीन किलोमिटर कालोपत्रे भए झन्डै परेवाकोट पुगिन्छ ।’ उनले राप्ती नगरपालिकाबाट पनि ट्यांक खोल्ने र सडक मर्मतको कामबाहेक अरु हुन नसकेको बताए । उनले भने, ‘नगरपालिकाबाट पनि सामान्य सडक मर्मतबाहेक अन्य ठूला आयोजनाको काम परेवाकोटमा हुन सकेको छैन ।’
स्थानीयका अनुसार परेवाकोट चेपाङको राजधानी मानिन्छ । त्यहाँ चेपाङ राजाले प्रयोग गरेका कुवा, दरबारका अवशेष र पुरातात्विक वस्तु रहेको बताइएको छ । परेवाकोटको सम्भावना देखेर केही भरतपुर र रत्ननगरका व्यवसायीहरुले सो क्षेत्रमा जग्गासमेत किनेका छन् । तर परेवाकोटको विकास हुन सकेको छैन । यो क्षेत्र अझै ओझेलमा परेको छ ।
राप्ती नगरपालिकाले परेवाकोटको विकासमा केही कामहरु त गरेको छ, तर पर्याप्त भएको छैन । खासै परेवाकोटमा विकासका कामहरु केही भएको देखिदैन । सडक निर्माणमा राप्ती नगरपालिकाले केही गरेको देखिन्छ । परेवाकोटमा अहिले मोटर बाटो पुगेको छ, त्यो बाहेक यस क्षेत्रको विकासमा खासै कामहरु भएको छैन । परेवाकोट क्षेत्रलाई पर्यटकीय नगरी बनाउन राप्ती नगरपालिकाले पनि बजेट अभाव देखाइरहेको छ ।
हरेक रत्ननगर महोत्सवको समयमा रत्ननगर उद्योग वाणिज्य संघले परेवाकोटको प्रसङ्ग उठाउँदै आएको छ, तर पनि रत्नगर उद्योग वाणिज्य संघले परेवाकोटको विकासमा सिन्को भाँचेको पाइँदैन । परेवाकोटको विकासमा रत्ननगर उवासंघ चुकिरहेको छ । कुनै समय पर्यटक प्रवद्र्धन गर्न परेवाकोट पुगेको रत्ननगर उवासंघ अहिले यसको विकासमा पन्छिरहेको स्थानीयको भनाइ छ ।
रत्ननगर उवासंघको सम्झनामा मात्र परेवाकोट

हरेक रत्ननगर महोत्सवको बेलामा रत्ननगर उवासंघले परेवाकोटलाई सम्झेको त हुन्छ, तर कामको दौरानमा सिन्कोसमेत भाँच्न सकेको छैन । महोत्सवको विषयमा रत्ननगर उवासंघले गरेको पत्रकार सम्मेलनमा परेवाकोटलाई यसरी सम्झियो–
‘रत्ननगर महोत्सव २०६४ मा परेवाकोटको हृदयविदारक दुर्घटनाले हामीलाई कहिले निको नहुने घाउको रुपमा पीडा दिने गरेको छ । दुर्घटनामा दिवंगत हुनु भएको तत्कालीन संघका कार्यसमिति सदस्य एवम् महोत्सवका कला सांस्कृतिक समितिका संयोजक हाम्रा आत्मिय मित्र स्व. जगतकृष्ण प्रजापति, मेघनाथ उपेती र लक्ष्मी विकलाई समेत सम्झनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकार तथा मित्रहरुप्रति हृदयदेखि सहानुभूति प्रकट गर्न चाहन्छौँ ।’
रत्ननगर उवासंघले महोत्सवको समयमा परेवाकोट दुर्घटनालाई लिएर सदैव सम्झने वाक्य हुन् यी । महोत्सवको बेला सम्झने र श्रद्धाञ्जली व्यक्त गर्ने कामबाहेक परेवाकोटको विकासमा रत्ननगर उवासंघको भूमिका खासै देखिदैन । दुर्घटनापछि पर्यटकीय प्रवद्र्धन गर्न परेवाकोट लैजाने कार्यक्रम पनि रत्नगर उवासंघले गरेको छैन । त्यहाँको विकासमा त्यहीका स्थानीयले विभिन्न गतिविधि गरेका छन्, त्यस्ता कार्यक्रममा रत्ननगर उवासंघको उपस्थित पनि खासै देखिदैन । रत्ननगर महोत्सवको बेला दुई शव्द श्रद्धाञ्जली व्यक्त गर्ने कामबाहेक रत्ननगर उवासंघले अरु केही नगरेको कारण परेवाकोट हालसम्म पनि ओझेलमै रहेको छ ।
वडाध्यक्ष स्याङतानले रत्ननगर महोत्सवको आम्दानीको केही हिस्सा परेवाकोटमा लगाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘परेवाकोटको विकासमा महोत्सव भएको हो, तर यहाँको विकासमा खासै केही हुन सकेको छैन, रत्ननगर उवासंघले महोत्सवको आम्दानी लगाए अत्यन्तै राम्रो हुने थियो ।’
परेवाकोटको विकासमा सौराहाका व्यवसायीहरु केही तातेका देखिन्छ । लोकमार्गबाट परेवाकोट डाँडामा केबुलकार व्यवस्था गर्न सके सौराहा आउने पर्यटकलाई सजिलै त्यहाँ लैजान सकिने सौराहाका व्यवसायीहरु बताउँछन् ।
सौराहा आउने पर्यटकलाई परेवाकोट लगेर त्यहाँको चेपाङ संस्कृति देखाउन सकियो भने सौराहा आउने पर्यटकहरुको बसाइँ लम्व्याउन सकिने सौराहाका व्यवसायीहरु बताउँछन् । व्यवसायीहरू परेवाकोटको विकासका लागि एकमत छन्, तर पनि परेवाकोटको विकास हुन सकेको छैन । परेवाकोटको विकास भए त्यहाँका चेपाङहरुको जीवनस्तरमा परिवर्तन हुने विश्वास स्थानीयमा छ, तर परेवाकोटको विकास नहुँदा भने स्थानीयमा पनि यतिबेला निराशा छाएको छ ।
यसपाली पुस २७ गते फेरि रत्ननगर महोत्सव हुँदैछ । महोत्सवले फेरि पनि पूर्वी चितवनमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । दुर्घटनाका कारण परेवाकोट झन् ओझेलमा परेको छ । यसको विकासमा लाग्ने निकाय खोई भनेर स्थानीयले प्रश्न गरिरहेका छन् । परेवाकोट प्रवर्द्धनका लागि कार्यक्रम आउन सकेको छैन ।
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले यसपटक हुने रत्ननगर महोत्सवबाट आउने आम्दानीको केही हिस्सा लगाउने भन्ने विषयमा छलफल भइरहेको बताए । चितवन प्रेससँगको कुराकानीमा उनले भने, ‘हामीले परेवाकोटलाई सम्झेका छौँ, यसपटक महोत्सवको आम्दानी परेवाकोटको विकासमा लगाउने कि नलगाउने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’
रत्ननगर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले परेवाकोटमा एमबुलेन्स सञ्चालनमा ल्याउनको लागि २५ हजार सहयोग गरेको बताए । उनले भने, ‘परेवाकोटमा भएको दुर्घटनापछि रत्ननगर उवासंघले २५ हजार सहयोग गरेको हो ।’
२०६४ पछि ६ वटा रत्ननगर महोत्सव भइसकेका छन् । यस पटकको महोत्सव सातौँ पटक हुन्छ । हालसम्म रत्ननगर उवासंघले २५ हजार सहयोगबाहेक परेवाकोटको विकासमा खासै केही गरेको छैन । यो कुरा अध्यक्ष अनिलकृष्ण श्रेष्ठले स्वीकारेका हुन् । उनी यसपटकको महोत्सवको आम्दानी परेवाकोटको विकासमा लगाउने आफ्नो मनसाय रहेको बताउँछन् ।
पर्यटकीय सम्भावना बोकेको परेवाकोट

प्राकृतिक सम्पदाले भरिएको र कला–संस्कृतिको खानी चेपाङ समुदायको बसोवास रहेको परेवाकोट पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । प्रचारप्रसार र विकासका पूर्वाधारको अभावका कारण परेवाकोट ओझेलमा परेको हो । स्थानीय तहको निर्वाचनपछि राप्ती नगरपालिका र प्रदेश सरकारले पर्यटकीय पूर्वाधार निर्माणमा केही कामहरु भएका छन् । तर पर्याप्त भएका छैनन् । त्यहाँ पर्यटकको आवतजावत हुन सकेको छैन । स्थानीय संघसंस्थाहरुले परेवाकोटको प्रवद्र्धनका लागि प्रथम परेवाकोट पर्यटन महोत्सवको आयोजना पनि गरिएको छ, तर पनि पर्यटकीय गन्तव्य बन्न सकेको छैन परेवाकोट ।
राप्ती नगरका उपमेयर इमानसिंह लामा परेवाकोटको विकासमा विभिन्न कामहरु भएको बताउँछन्, तर पर्याप्त छैनन् । त्यहाँका चेपाङहरुको आर्थिक आय बढाउन राप्ती नगरपालिकाले कृषिका विभिन्न कार्यक्रम पारेको उनी बताउँछन् । उनका अनुसार परेवाकोटमा सडक सञ्जाल पुगिसकेको छ ।
प्रदेश सरकारको सहयोगमा जेपी भेटवाल स्मृति पार्क बनाइएको उनले बताए । चितवन प्रेससँगको कुराकानीमा उनले भने, ‘नगरपालिकाको पहलमा पर्यटकीय आकर्षणको रुपमा भ्यू टावर निर्माण गरिएको छ ।’ उनले पर्याप्त बजेट भएदेखि परेवाकोटको विकास तीव्र गतिमा गर्न सकिने बताए ।
राप्ती वडा नं–१ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तानका अनुसार परेवाकोटलाई पर्यटकीयस्थल बनाउन राप्ती नगरपालिका र प्रदेश सरकारको लगानीमा भ्यू–टावर, जेपी पार्क निर्माण भएका छन् । लोथरबाट परेवाकोटसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । परेवाकोटमा स्थानीयवासीले होमस्टे र कटेज सञ्चालन गरेका छन्, तर सोचेजति अझै हुन सकेको छैन । परेवाकोटको विकास फड्को मार्ने गरी हुन सकेको छैन ।


