काठमाडौँ। काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ। काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले संक्रमणको चेन ब्रेक रोक्न निषेधाज्ञा जारी गरेका छन्।
जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। ‘खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिन्छ,’ पराजुलीले भने। होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ। पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुईदिन मात्र बाँकी छ। संक्रमणको अवस्था अवस्था हेरेर थप निर्णय लिने पराजुलीले बताए। निषेधाज्ञाको विषयमा स्वास्थ्य मन्त्रालयसँग थप छलफल गरिने उनको भनाइ छ।