चितवन । भरतपुर अस्पताल र कोभिड ल्यावमा कार्यरत रही सङ्क्रमित बनेका स्वास्थ्यकर्मीले अझै कोरोना बिमा भुक्तानी रकम पाएका छैनन् । भरतपुर अस्पतालले अजोड इन्स्योरेन्स लायन्सचोक, नारायणगढमार्फत स्वास्थ्यकर्मीको बिमा गराएको थियो ।
कोरोना बिरामीको उपचारमा संलग्न बिमाकर्ता स्वास्थ्यकर्मीहरुमध्ये सङ्क्रमित भएका १ सय ३५ जनाले अझै बिमा भुक्तानी पाएका छैनन् । नपाउनेमा १५ जना डाक्टर नै छन् । ‘ पहुँच हुनेको आउने सामान्य नागरिकको नआउने भन्ने भएन’, माओवादी केन्द्रनिकट भरतपुर अस्पताल कर्मचारी संगठनका नेता सञ्जय बरालले भने, ‘पूर्वमेसु श्रीराम तिवारीको समेत हालसम्म बिमा भुक्तानी भएको छैन ।
यस विषयमा अस्पताल प्रशासनले पटकपटक बिमा कम्पनीलाई अनुरोध गरे पनि समस्या समाधान भएको छैन । ‘अहिले पनि जोखिम मोलेर तिनै स्वास्थ्यकर्मी काममा खटिएका छन्’, नेता बरालले भने, ‘स्वास्थ्यकर्मीले पाउने सेवासुविधा नपाउँदा उनीहरुमा निराशा छाएको छ ।
अग्रस्थानमा रहेर सेवा गरेका स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गर्दा पनि अनेक बहाना बनाएर बिमा कम्पनीले भुक्तानी नदिने गरेको भन्दै आक्रोशित बनेका छन् । अस्पताल प्रशासनका अनुसार विभिन्न कागजपत्रमा त्रुटि भएको भनी राष्ट्रिय बिमा संस्थानले भनेपछि पुनः जाँच गरी दाबी भुक्तानीका लागि पठाइएको छ ।
‘२४ सै घन्टा जोखिम मोलेर कोरोना बिरामीको उपचारमा खटिएका डाक्टर, नर्सहरुले समेत अहिलेसम्म बिमा रकम नपाउनु दुःखको विषय हो’, अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले भने ।
अर्थ मन्त्रालयले कात्तिक १८ गते कोरोना बिमा भुक्तानी एक साताभित्रै गर्ने व्यवस्था मिलाउन बिमा समितिलाई निर्देशन दिएको थियो । लगत्तै नियामक निकाय बिमा समितिले कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
भरतपुर अस्पताल र यसमातहत रहेको कोभिड ल्यावका कर्मचारीले अझै कोरोना बिमा रकम पाएका छैनन् । अस्पतालको फ्रन्टलाइनमा रहेर काम गर्नेहरु नै कोरोनाको उच्च जोखिममा रही सङ्क्रमित हुन पुगेका थिए ।
त्यस्तै, ०७६ चैतदेखिको गणना भई भत्ता पाउनुपर्नेमा अहिलेसम्म नपाएको स्वास्थ्यकर्मी र अन्य सम्बन्धित सरोकारवालाहरुको भनाइ छ । भरतपुर अस्पतालमा अर्थ मन्त्रालयले तत्कालीन समयमा १ करोड ३२ लाख र अस्पताल विकास समितिले २५ लाख थप गरी एकपटक भत्ता दिएको थियो । तर, हालसम्म एकपटक सबैले न्यून रकम पाएको र त्यसपछि पाउनुपर्ने बाँकी रकम नपाएको बरालको भनाइ छ ।इचितवनपोस्टबाट