चितवन । छ जना युवाहरुको समूहले जेठ १२ गतेदेखि भरतपुर अस्पताल र पुराना मेडिकल कलेजमा कोरोना सङ्क्रमितका कुरूवालाई र विपी कोइराला क्यान्सर अस्पतालमा सङ्क्रमित र सङ्क्रमितका कुरूवालाई खाना खुवाउँदै आएको छन् । भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा बिरामीलाई अस्पतालले नै खाना खुवाउने भएकोले कुरूवालाई मात्रै खुवाएको एक अभियन्ताले बताए । ‘क्यान्सरमा भने क्यान्सरका बिरामीलाई मात्रै खुवाउने हुँदा कोरोना सङ्क्रमितलाई खुवाउन बजेट छैन भनेपछि सङ्क्रमित र कुरूवालाई हामीले नै खुवाउने गरेका छौँ’, नाम नखुलाउने सर्तमा उनले भने ।
हाल दैनिक सरदर २५० जनालाई खाना खुवाउँदै आएको उनले बताए । ‘बचौँ र बचाऔँ, एक आशाको किरण’ भन्ने मूल मन्त्रसहित ६ जना पेसाकर्मी युवाहरु मिलेर सुरू गरेको अभियानमा नारायणगढ जेसीस र चितवन अटोमोबाइल्स एसोसिएसनले सहयोग गरेको छ । व्यक्तिगतरुपमा पनि केही व्यक्ति जोडिएका छन् । यो अभियान कहिलेसम्म चलाउने भन्ने निश्चित नरहेको उनले बताए । ‘सङ्क्रमणको जोखिम कम नभएसम्म रहन पनि सक्छ’, उनले भने ।
तर, दैनिक ज्याला मजदुरी गर्नेहरुले पनि खान पाएनन् भन्ने जानकारीमा आए अभियानले त्यसतर्फ पनि ध्यान दिने जनाएको छ । ‘निषेधाज्ञाकै कारण घरको चुल्हो निभेको छ भने हामी त्यस्ता व्यक्तिलाई पनि खाना खुवाउँछौँ’, उनले भने, ‘किनकि दिनभर जे–जसरी बसे पनि राति सुत्ने बेला पेट भोको नरहोस् भन्ने हामी चाहन्छौँ ।’ चिनजानकै आधारमा साथीहरु मिलेर चलाएको अभियानले खाना बनाउनका लागि भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा भएकालाई सम्बन्धित अस्पतालकै चमेनागृह प्रयोग गरेको छ भने पुरानो मेडिकल कलेजमा बाहिर पकाएर प्याकेटमार्फत खुवाउँदै आएको छ ।
भरतपुर–नारायणगढ क्षेत्रआसपासमा कुनै पनि व्यक्तिले खाना खानै नपाएको गुनासो आएमा अभियानका अभियन्तालाई सीधै ९८५५०६१८४४, ९८५५०५९४६०, ९८५५०५०८८०, ९८४५०४६०९९, ९८४४२७०३३० र ९८६०३९५३२२ मा सम्पर्क गर्न सकिने अभियन्ताहरुले बताएका छन् । विभिन्न पेसामा रहेका व्यक्तिले अस्थायीरुपमा सामाजिक काममा जोडिएको भन्दै आफ्नो नाम भने कसैले सार्वजनिक गर्न चाहेनन् ।इचितवनपोस्टबाट