चितवन । चितवनमा नवौँ राष्ट्रिय पोल्ट्री दिवसको अवसर पारेर बिरामीलाई अण्डा वितरण गरिएको छ । पोल्ट्रीसँग सम्बन्धित संघसंस्थाहरुले बीपी कोइराला क्यान्सर अस्पतार भरतपुर र भरतपुर अस्पतालका बिरामी र कुरुवाहरुलाई अण्डा वितरण गरिएको हो ।
क्यान्सर अस्पताल भरतपुरमा नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष डा रेवन्तकुमार भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार देउजा प्रमुख अतिथि रहेका थिए । क्यान्सर अस्पतालमा रहेका बिरामीहरुलाई बेडमै पुगेर पनि अण्डा वितरण भएको थियो ।
यता भरतपुर अस्पतालमा मन्चका अध्यक्ष राजेन्द्र लामिछाने अध्यक्षतामा अण्डा वितरण भएको थियो । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेल प्रमुख अतिथि रहेका थिए । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष श्री टीकाराम पोखरेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । क्यान्सर अस्पतालमा ३०० जना बिरामी र बिरामीका कुरुवा, भरतपुर अस्पतालमा ४०० जना बिरामी र बिरामीका कुरुवाहरु २÷२ वटाको दरले अण्डा वितरण गरिएको थियो ।

विसं २०७० देखि सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो । नेपाल अण्डा उत्पादक सङ्घले नवौँ पोल्ट्री दिवस शनिबार धनगढीमा मनाउने निर्णय गरेको छ । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार सङ्घको कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका अधिकारी एवं निजी क्षेत्रको सहभागितामा धनगढीमा कार्यक्रम गरिँदै छ ।
यसअघि सङ्घले पाँचपटक चितवनमा र अन्य वर्षमा पालैपालो बुटवल, झापा, सुर्खेत र यस वर्ष धनगढीमा कार्यक्रम गर्न लागिएको हो । नेपालमा धेरै अण्डा उत्पादन र सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेलले यस कार्यक्रमले अण्डा र मासुको महत्व दर्शाउँदै पेशामा आउन उत्प्रेरणा जगाउने बताए ।

यसैबीच आज मंगलपुरस्थित विश्वप्रकाश माविका विद्यार्थीलाई अण्डा वितरण गरी यसको महत्वका बारेमा जानकारी गराइएको थियो। भोलि शुक्रबार रत्ननगर बकुलहर अस्पताल र वृद्धाश्रममा अण्डा वितरण हुनेछ । पोल्ट्री दिवसका दिन बागमती प्रदेशको कृषि मन्त्रालयको सहयोगमा अन्तक्र्रिया कार्यक्रम गरिनेछ। मञ्चका सदस्य मदन पोख्रेलका अनुसार दिवसका दिन गरिने कार्यक्रममा सरकारी नीतिनियम र पोल्ट्रिको अवस्था, यलोपेथिक चिकित्सकबाट अण्डा र मासुको महत्व, कृषि तथा वन विज्ञान विश्वविद्यालय र निजी क्षेत्रकोतर्फबाट चार वटा कार्यपत्र प्रस्तुत गरिँदैछ ।

