काठमाडौँ। सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल बनाएपछि नेकपा एमालेका नेता योगेश भट्टराईले कसैसँग छलफल नै नगरी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले भनेका छन्, ऐंतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समुह, जनप्रतिनिधि सहित नागरिक स्तरमा ब्यापक छलफल र विमर्श गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागिता मुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ । अन्यथा बिबाद, विभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ ।’
शनिवार सार्वजनिक बजेटमा सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी बनाएपछि भट्टराईले आइतवार टिप्पणी गरेका हुन् ।