चितवन। राजनीतिक झामेलाका बिच अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटमा चितवनलाई विशेष प्राथमिकतामा राखिएको छ । विभिन्न राजनैतिक दलहरुले प्रधानमन्त्री के.पी शर्मा ओलीको सरकारलाई असंवैधानिक भएको आरोप लगाई रहेको बेला सरकारका अर्थमन्त्री विष्णु पौडेलले आज बजेट भाषण गरेका हुन् ।
राजनीति क्षेत्रको हट केक मानिने चितवनमा धार्मिक धाम बनाउने देखि अन्य भौतिक पूर्वाधारहरु बनाउनेसम्मका योजनाहरु विशेष प्राथमिकतामा परेका छन् । भौतिक पूर्वाधारहरुमा चितवन भएर जाने पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । यसअघि नै नारायणगढ–बुटवल सडक र नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको सडक विस्तारको काम सुरु भइसकेको छ। चितवनमा विकासको निम्ति यो सडक विस्तारको काम निकै महत्तवपूर्ण मानिएको छ। सधै ब्यस्थ हुने नारायणगढको पुलचोकमा पनि आर्क ब्रिज बनाउन पनि बजेटले प्राथमिकतामा राखेको छ ।
साथै,सरकारले जल यातायातका लागि नारायणी नदिको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगालाई चितवनकै दासढुंगामा दुर्घटनामा परि निधन भएका लोकप्रिय एमाले नेता मदन भण्डारी र जीवराज आश्रित को नामबाट मदन आश्रित जलमार्ग नामाकरण गर्ने भएको छ । जल र सडक मार्ग विस्तार गर्ने मात्र नभई नेपाल सरकारले आगामी आर्थिक वर्षमा भरतपुर विमानस्थलको स्तरोन्नती लागि आवश्यक बजेट समेत विनियोजन गर्दै हवाई मार्गलाई पनि समेटेको छ। सरकारले अमलेखगन्ज र चितवनको लोथरसम्म पेट्रोलियमा पाइपलाइन जोड्ने गरी पनि आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेको छ।
चितवनमा विस्तार हुँदै गएको कृषि क्षेत्रको बजारीकरणमा सहयोग पुग्ने गरी चितवनको रत्ननगरमा कृषि थोक बजार स्थापना गर्ने गरी सरकारले बजेट बिनियोजन गर्दै गरको छ। त्यसको साथै,चितवनमा कृषि क्षेत्रको विकासको लागि सिंचाइँका विभिन्न कार्यक्रमहरु, कार्वन उत्सर्जन न्यूनीकरणका लागि भनेर बजेट बिनियोजन गरिएको छ भने चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पस विस्तारमा समेत सरकारले विशेष प्राथमिकता दिएको छ ।
माडीको अयोध्याधाम बनाउने गरी राम मन्दिर निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्दै धार्मिक धाम बनाउने योजनाहरु विशेष प्राथमिकतामा राखेर समावेस गरेको छ । साथै चितवन,नवलपुर र तनहुँको संगम मानिएको देवघाट क्षेत्रको विकासमा सरकारले आवश्यक बजेट बिनियोजन गरेको छ ।