चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरसका बिरामी कुरुवालाई निःशुल्क खानाको व्यवस्था गरिएको छ । कोरोना भाइरस न्यूनीकरणका लागि सरकारले लगाएको निषेधाज्ञाका कारण टाढा भएका खाना खान समस्या भएपछि विवेकशील साझा पार्टी चितवनले निःशुल्क खाना खुवाउन थालेको हो ।
‘अस्पताल आसपासका सबै होटल बन्द छन् । टाढा घर भएकालाई खाना ल्याउन पनि समस्या छ,’ विवेकशील साझा पार्टी चितवनका सचिव नितान्त कार्कीले भने, ‘त्यसैले हामीले जेठ सातेदेखि नियमित खाना खुवाइरहेका छौँ ।’ उनीहरुले ‘ताततातो भात अभियान’ नाम दिएर दैनिक १ सय रुपैयामा एक प्लेट खाना खुवाउने गरेका छन् ।
खाना बाहिर होटेलमा प्याक गरेर लगिने गरेको कार्कीले बताए । यो अभियान निषेधाज्ञा नहट्दासम्म सञ्चालन गर्ने लक्ष्य लिईएको छ । साथै, विवेकशील साझा पार्टी चितवनले बिरामीका कुरुवासंगै निषेधाज्ञाका कारण काम नभएर बेरोजगार भएका श्रमिक, मजदुरहरुलाई पनि खाना खुवाउने गरेको कार्कीले बताए । भात विहान ९ बजे कोभिड वाड बाहिरको परिसरमा दिने गरिएको छ ।
यसका लागि दैनिक ८ हजार रुपैयाँ खर्च हुने विवेकशील पार्टीको अनुमान छ । आर्थिक सहयोग पार्टी सदस्य र सहयोगी संस्थाबाट भएको उनले बताए । विवेकशील साझा पार्टी चितवनले यसअघि लकडाउनको समयमा मजदुरहरुलाई भात खुवाउने तथा अन्य सामाजिक काम गर्दै आएको थियो ।
तातोभात अभियानका संयोजक कष्ण ढकालको नेतृत्वमा नितान्त कार्की,अर्जुन भट्ट ,पवित्रा थापा, सुभास पोखरेल, राजेन्द्र सिग्देल, गणेश सुबेदी, प्रविन काफ्ले लगायत पार्टीका नेता तथा कार्यकर्ताको सक्रियतामा खाना खुवाईएको छ ।