चितवन। नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा चितवनका दुई नेता निर्वाचित भएका छन् । राज्यमन्त्रीसमेत रहेका चितवनका उमेश श्रेष्ठ दोस्रो स्थानमा निर्वाचित भएका छन् । यस्तै चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ पनि अन्तिममा निर्वाचित भएका छन् ।
गोर्खाका चिनकाजी श्रेष्ठले सर्वाधिक मत पाएका छन् । ८ जना निर्वाचित हुने सो क्लष्टरमा चितवनका टेकप्रसाद गुरुङ आठौँमा परेका छन् । ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् भने आठौँमा परेका चितवनका टेकप्रसाद गुरुङ कोइराला प्यानलबाट जितेका हुन् ।
बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ (संखुवासभा) पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेका चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठ भने नवौं स्थानमा पर्दै पराजित भएका छन् । आदिवासी जनजातितर्फ चितवनका तीन नेता उमेदवार परेकोमा दुई नेता निर्वाचित भए ।

