ललितपुर। जनभावना क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको दुई वर्ष पार गरी तेस्रो वर्ष प्रवेश गरेको छ ।
क्युएए प्रमाणपत्र प्राप्त गरेपछिका उपलब्धिलाई सार्वजनिक गर्न बुधबार आयोजना गरिएको कार्यक्रममा जननभावना क्याम्सका प्रमुख शिवराज सञ्जलेले अब जनभावना स्वायत्त शैक्षिक कार्यक्रमतर्फ उन्मुख हुने घोषणा गरे । ललितपुरको चापागाँउस्थित जनभावना क्याम्पसले २०७६ पुस ७ गते क्यूएए प्रमाणपत्र पाएको हो ।
प्रमुख सञ्जेलले आफूहरू पाठ्यक्रम निर्माण, परीक्षा सञ्चालन लगायतका कार्यक्रममा क्रियाशील भएको जानकारी दिए । सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले आफूहरूले विश्व विद्यालय अनुदान आयोगले तय गरेका आठवटा मापदण्ड पूरा गरेकाले उपत्यकाकै पहिलो क्यूएए प्रमाणपत्र प्राप्त क्याम्पस बनाउन सफल भएको स्मरण गरे ।
अर्का क्याम्पस प्रमुख निर्मल न्यौपानेले आफूहरूले अब्बल शिक्षा प्रदान गर्न सफल भएकाले क्यूएए प्रमाणपत्र प्राप्त गरेको जिकिर गर्दै यो अवस्थालाई टिकाइ राख्नु चुनौती हुने स्मरण गराए ।
सञ्चालक समितिका सदस्य डिल्ली घिमिरेले सो क्याम्पसका शिक्षकको मिहिनेतकै कारण क्याम्पसले क्यूएए मान्यता प्राप्त गर्न सक्ने आधार बनेको धारणा राखे ।
अर्का सदस्य रामहरी घिमिरेले सो क्याम्पसले गुणस्तरीय शिक्षाका लागि लिएका योजना अघि बढाउन सञ्चालक समिति सधै तयार रहेको बताए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार मुलुकभर एक हजार चार सय २५ शैक्षिक संस्थामध्ये ५३ वटा शैक्षिक संस्थाले मात्रै क्युएए मान्यता प्राप्त गरेका छन् ।
क्याम्पसले गोदावरी–१० र ११ मा अवस्थित कूल २८ रोपनी सार्वजनिक जग्गा प्राप्तिको चरणमा छ । जग्गा प्राप्तिलगत्तै क्याम्पसले सुविधा सम्पन्न भवन बनाउने योजनाअघि बढाएको छ ।
क्याम्पसमा व्यवस्थापनतर्फ स्नातकोत्तरमा एमबीएस, स्नातक तहमा बीबीएस, मानविकी संकायतर्फ स्नातक तहमा बीए, बीएएसडब्लु, शिक्षाशास्त्र संकायतर्फ बीएड कार्यक्रम सञ्चालित छन् ।
यस्तै मानविकी संकायतर्फ प्राविधिक धारको बीसीए कार्यक्रम सञ्चालित छ भने शिक्षा शास्त्र संकायतर्फ बीआईसीटीई कार्यक्रम सञ्चालन गर्ने अन्तिम तयारीमा क्याम्पस छ ।
क्याम्पसका दुईवटा ठूला भवन छन् । क्याम्पसमा सेमिनार हल, ओटेमेटेड ओपन एक्सेस लाइब्रेरी, व्यवस्थित इएमआइएस, डिजिटल जुम स्टुडियो, कम्प्युटर ल्याब, बेसिक अनलाईन ल्याब, रेडियो स्टुडियो, प्रोजेक्टर र स्मार्टबोर्डसहितका डिजिटल कक्षाकोठा रहेको क्याम्पस प्रमुख सञ्जेलले जानकारी दिए ।
क्युएए के हो ?
विश्व विद्यालय अनुदान आयोगले देशभरका शैक्षिक संस्थाहरूलाई उनीहरूको शैक्षिक उपलब्धिलाई आधार मानेर संस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०६६/०६७ बाट सुरु भएको यो कार्यक्रममा हालसम्म नेपालका ५३ शैक्षिक संस्थाहरूले प्रमाणपत्र पाइसकेका छन् ।
अनुदान आयोगले सरकारी, सामुदायिक तथा निजी क्याम्पसहरूको गुणस्तर मापन गर्दै क्युएए प्रदान गर्दै आएको छ । क्युएए प्रक्रियामा जान चाहने उच्च शैक्षिक संस्थाहरूको ८ आधारमा मूल्यांकन गरी प्रमाणपत्र प्राप्तिका लागि सिफारिस गर्छ ।
नीति नियम, पाठ्यक्रमसम्बन्धी पक्ष, पढाई सिकाई र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाईका स्रोत, विद्यार्र्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार आयोगले बनाएको छ ।
क्यूएए प्रमाणित विश्वविद्यालय र कलेजमा अध्ययन गरेका विद्यार्थीले मात्र विदेशी कलेजमा स्वतः समकक्षताको मान्यता पाउने नियम छ । यही नियमका कारण सरकारले नेपालका सबै कलेजलाई क्युएए प्रक्रियामा आउन अनुरोध गर्न थालेको छ । गुणस्तर सुनिश्चितता प्रमाणपत्र लिएका नेपाली कलेज वा विश्वविद्यालयको प्रमाणपत्रलाई मान्यता दिने क्रम सुरु भइसकेको छ ।

